किन मनमोहक लाग्छ ?मानिसलाई चराको चिरबिराहट


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चराहरू चिरबिराउँदा मानिसले आनन्द महसुस गर्छन् । तर केहि चराका आवाज मानिसको कानलाई विशेष रूपमा मनमोहक लाग्छन् । र, वैज्ञानिकहरूले यसको कारण बुझ्न थालेका छन् । जर्मनीको ट्युबिङ्गेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एउटा नयाँ अध्ययनले मानिसलाई केही चराका गीत अरूभन्दा बढी मनपर्नुको कारण खोतल्ने प्रयास गरेको छ बुझ्न । यसका केही ध्वनिगत विशेषता पहिचान गरेको छ ।अनुसन्धानकर्ताहरूका अनुसार मानिसले कम आवाज र साँघुरो फ्रिक्वेन्सी भएका चराका आवाज बढी रुचाएका थिए । त्यस्तै, बढी जटिल किसिमका आवाजलाई पनि मानिसहरूले तुलनात्मक रूपमा बढी मनमोहक मानेका थिए ।अनुसन्धानकर्ताहरूले चराका बारेमा श्रोताहरूलाई कति जानकारी थियो भन्ने कुराले उनीहरूको यस्तो रुचिमा खासै प्रभाव नपारेको पनि पाए । अध्ययनकी प्रमुख लेखिका तथा ट्युबिङ्गेन विश्वविद्यालयकी जीवविज्ञान प्राध्यापक डा. नादिन काल्बले भनिन्, ‘यसले चराको गीतबाट प्राप्त हुने आनन्द तपाईँले के सुनिरहनुभएको छ भन्ने जानकारीमा मात्र निर्भर नभई अझ आधारभूत कुनै कुरासँग जोडिएको संकेत गर्छ ।’
उनका अनुसार चराको गीत मानिसलाई कति मनपर्छ भन्ने कुरा एउटा मात्र ध्वनिगत विशेषताले निर्धारण गर्दैन । विभिन्न ध्वनिगत विशेषताहरूको संयोजनले चराको आवाजलाई अत्यन्तै मनमोहक बनाउन सक्छ ।हाम्रो वातावरण कस्तो बनाउने भन्नेमा चराको पनि भूमिका रहन्छ भन्ने यस अध्यनले देखाउँछ । भविष्यमा पार्क, सहरी हरित क्षेत्र तथा मानिसहरू आराम गर्न जाने अन्य स्थानको डिजाइनमा समेत यसले उपयोगी जानकारी दिन सक्छ ।अध्ययनका वरिष्ठ लेखक डा. क्रिस्टोफ रान्डलरले भने, ‘सायद सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने चराहरूलाई ध्यानपूर्वक सुन्नुले हामीले प्राकृतिक संसारलाई अनुभव गर्ने तरिका नै बदल्न सक्छ ।’उनका अनुसार चराले के सन्देश दिन खोजेको हो भन्ने हामीले नबुझे पनि उसको गीतले हाम्रो ध्यान आकर्षित गर्छ । सकारात्मक भावना उत्पन्न गर्छ र वरपरको जैविक विविधताप्रति हामीलाई अझ सचेत बनाउँछ ।सामान्य ब्ल्याकबर्ड (चाँचर)ले किन पायो सबैभन्दा उच्च अंक ? अनुसन्धान टोलीले ८४ जनालाई १२३ प्रजातिका जंगली चराका आवाजको रेकर्डिङ सुनाएर प्रत्येक आवाज कति मनमोहक लाग्यो भनेर मूल्याङ्कन गर्न लगाएको थियो ।औसत ५ मध्ये ४.५२ अंक प्राप्त गर्दै सामान्य ब्ल्याकबर्ड (युरेसियन ब्ल्याकबर्ड अर्थात् चाँचर) सबैभन्दा मनपर्ने चराका रूपमा देखियो । बगैँचा, पार्क तथा वन क्षेत्रमा सामान्यतया देखिने चाँचर युरोपभर परिचित चरा हो । यसको गीत समृद्ध, मधुर र बाँसुरीको धुनजस्तो सुनिने बताइन्छ ।अर्कोतर्फ, बार्न आउल अर्थात् गोठे लाटोकोसेरोको आवाज सबैभन्दा कम मनमोहक मानिएको थियो । यसको आवाजले औसत ५ मध्ये १.३२ अंक प्राप्त गरेको थियो । यसको आवाज केही डरलाग्दो र रुखोगरि चिच्याएको जस्तो सुनिन्छ ।अन्य चरामध्ये युरोपियन गोल्डफिन्चले ५ मध्ये ४.२६ अंक प्राप्त गर्‍यो । त्यसपछि युरोपियन रोबिनले ४.०४ र ब्लु टिटले ३.९२ अंक पाए । एउटा चराको आवाज मनमोहक र अर्कोको कम मनमोहक किन लाग्छ ? यही प्रश्नको उत्तर खोज्नु अध्ययनका प्रमुख उद्देश्यहरूमध्ये एक थियो ।केहि चराहरू भेट्दा मानिसलाई विशेष रूपमा आनन्द किन आउँछ भन्ने उनीहरुको सुरुवाती विषय थियो ।  त्यसपछि यसपटक अनुसन्धानकर्ताहरूले चराका आवाजलाई नै अझ नजिकबाट अध्ययन गरे । यस क्रममा उनीहरूले ‘चराको आवाज उत्पादन गर्ने जैविक प्रक्रिया र मानिसको ध्वनि ग्रहण गर्ने मनोविज्ञान’लाई एकसाथ हेरे ।मानिसहरूलाई चराका गीतको मूल्याङ्कन गर्न लगाएपछि अनुसन्धानकर्ताहरूले ती मूल्याङ्कनलाई प्रत्येक गीतका ध्वनिगत विशेषतासँग तुलना गरे । यसबाट कुन विशेषताका कारण चराको आवाज बढी सांगीतिक वा मधुर सुनिन्छ भन्ने पत्ता लगाउने प्रयास गरिएको थियो ।

रान्डलरका अनुसार अध्ययनको एउटा आश्चर्यजनक निष्कर्ष मानिसले अझ जटिल चराका गीतहरू रुचाएको थियो । ‘हामीलाई सहज रूपमा सरल र दोहोरिने आवाज सुन्न सजिलो हुने भएकाले बढी मनपर्छ जस्तो लाग्न सक्छ । तर हाम्रो अध्ययनमा यसको ठीक उल्टो देखियो । बढी जटिल आवाजले तुलनात्मक रूपमा उच्च मनमोहकता अंक पाए,’ उनले भने ।चराको गीतमा ध्यान दिनु किन महत्त्वपूर्ण छ ?अनुसन्धानकर्ताहरूका अनुसार यो निष्कर्षले भविष्यमा सहर योजनाकार तथा पार्क डिजाइन गर्नेहरूलाई अत्यधिक आवाज हुने स्थानबारे फरक ढंगले सोच्न सहयोग गर्न सक्छ ।सहरको ध्वनि प्रदूषण घटाउने कुरामा मात्र ध्यान दिनुको सट्टा मानिसहरूले कस्ता आवाज सुनिरहेका छन् भन्ने विषयमा पनि ध्यान दिन सकिने उनीहरूको भनाइ छ । यसमा चराको गीतजस्ता प्राकृतिक आवाज पनि पर्छन् ।उनको टोलीले गरेको अघिल्लो अनुसन्धानमा लाउडस्पिकरमार्फत थप चराको गीत बजाउँदा प्राकृतिक रूपमा सुनिने चराको गीतको तुलनामा मानिसलाई थप हित पुर्याएको देखिएन । मार्चमा प्रकाशित एउटा अध्ययनले मानिस र अन्य जनावरले केही प्रकारका आवाजप्रति समान रुचि देखाउने गरेको पत्ता लगाएको थियो । त्यस्तै, सन् २०२० को अर्को अध्ययनले मानव संगीत र चराको गीतमा केही समान लय रहेको देखाएको थियो ।व्यक्तिगत अनुभवले पनि फरक पार्छफेहरका अनुसार मानिसले चराको गीत कसरी अनुभव गर्छ भन्ने कुरा व्यक्तिगत अनुभवले पनि प्रभावित गर्न सक्छ । उनले जेब्रा फिन्च नामक चराको अध्ययन गर्छिन् । यी चराको तीव्र र रोबोटजस्तो गीतलाई प्रायः अप्रिय मानिन्छ । तर फेहरलाई भने ती गीत आफैँलाई निकै मनपर्छन् ।उनका अनुसार नयाँ अध्ययनबाट प्राप्त जानकारी मानिसका लागि ध्वनि वातावरणलाई अझ राम्रो बनाउन प्रयोग गर्न सकिने भए पनि मधुर गीत गाउने र मानिसलाई आकर्षक लाग्ने प्रजातिमा मात्र बढी ध्यान दिँदा संरक्षण प्रयासमा समस्या आउन सक्छ ।किनकि मानिसलाई कम मनपर्ने आवाज निकाल्ने चराहरू पनि पारिस्थितिक प्रणालीका लागि उत्तिकै महत्त्वपूर्ण हुन सक्छन् ।फेहरका अनुसार यस अनुसन्धानको सबैभन्दा रोचक पक्ष मानिसमा ‘सुन्दरता’को धारणा कसरी विकसित भयो भन्नेबारे पनि यसले केही संकेत दिन्छ । उनले चराको गीतमार्फत आफ्नो प्रजातिका अन्य सदस्यलाई आकर्षित तथा प्रभावित गर्ने केही गाउने चरासँग यस्तो सौन्दर्यबोध मानिसले साझा गरेको हुन सक्ने बताइन् ।त्यो त अनुसन्धानकर्ता डा. रोबर्ट लाचलानका अनुसार, ब्ल्याकबर्ड र नाइटिङ्गेलजस्ता सुन्दर गीतका लागि परिचित चराहरूले तुलनात्मक रूपमा कम पिच भएका, बाँसुरीजस्ता नोट प्रयोग गर्ने गरेको उनले बताए ।लाचलानका अनुसार, फ्रिक्वेन्सीको दायरामा केही निश्चित क्षेत्र मानिसलाई बढी आकर्षक लाग्न सक्छ । गीतमा रहेको सबैभन्दा उच्च र सबैभन्दा न्यून फ्रिक्वेन्सी मात्र हेर्दा यस्तो रुचि पत्ता नलाग्न सक्छ ।उनले चराको गीतप्रतिको मानिसको धारणा निर्माणमा जैविक पक्षसँगै व्यक्तिगत अनुभवले पनि भूमिका खेल्ने बताए । अध्ययनमा चरासम्बन्धी अनुभवले कुन गीत मानिसलाई आकर्षक लाग्छ भन्नेमा कुनै प्रभाव नपारेको कुरा आफूलाई रोचक लागेको उनले बताए । तर यात्राबाट घर फर्किँदा आफ्नै छिमेकमा परिचित चराको आवाज सुन्दा आफूले फरक अनुभूति गर्ने गरेको उनले उल्लेख गरे ।चराको मनमोहक गीतको कुनै एउटै सूत्र छैनअध्ययनकी प्रमुख लेखिका काल्बका अनुसार मानिसलाई मनपर्ने चराको आवाजका लागि एउटै निश्चित सूत्र छैन ।उनले भनिन्, ‘ब्ल्याकबर्ड, विलो वार्बलर र ब्ल्याकक्यापका आवाज एकअर्काभन्दा निकै फरक छन् । तर पनि तीनैवटाले अत्यन्त उच्च मनमोहकता अंक पाए ।’उनका अनुसार अध्ययनले कुनै एउटै ध्वनिगत विशेषतामा मात्र ध्यान दिएको छैन । बरु फ्रिक्वेन्सी तथा आवाजको तीव्रता जस्ता कुराको संयोजनले मानिसले चराको आवाजलाई कति मनमोहक ठान्छ भन्ने कुरामा महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।