उपल्लो डोल्पाका तीन स्थानीय तहका बासिन्दालाई चीन प्रवेशका लागि ३४० वटा सीमा पास वितरण गरिएको छ । गाउँगाउँमै पुगेर पास वितरण गरिए पनि चीनसँग जोडिएका सीमा नाका नियमित रूपमा कहिले खुल्छन् भन्ने विषय भने अझै अन्योलमा छ ।छार्काताङसोङ, शे–फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दालाई सीमा पास वितरण गरिएको हो। तीन स्थानीय तहमध्ये छार्काताङसोङ गाउँपालिकामा ९२ वटा पास वितरण भएका छन् भने बाँकी पास शे–फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दालाई वितरण गरिएको छ ।सीमा पास पाँच वर्षका लागि मान्य हुने व्यवस्था छ । सम्बन्धित कर्मचारी गाउँमै पुगेर स्थानीयवासीको विवरण सङ्कलन गरी घरधुरीका आधारमा पास वितरण गरेका हुन् । यी पास विशेषगरी मरिम र क्याटो नाका हुँदै चीनको तिब्बत क्षेत्रमा आवतजावत गर्न प्रयोग हुने जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा (नासु) दत्त लामाले बताए ।पास पाएपछि स्थानीयवासीमा चीनसँगको व्यापार तथा आवतजावत सहज हुने अपेक्षा बढेको छ । तर पास वितरण हुनु र सीमा नाका नियमित रूपमा सञ्चालन हुनु फरक विषय भएकाले स्थानीयवासीको मुख्य चासो अब नाका कहिले खुल्छ भन्नेमा केन्द्रित भएको लामाको भनाइ छ ।लामाका अनुसार अहिले मरिम नाका तुलनात्मक रूपमा बढी सक्रिय छ । पास वितरणका क्रममा गाउँ पुगेका कर्मचारीसँग स्थानीयवासीले सीमा व्यापार, आवतजावत तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिबारे चासो राखेका थिए ।
सीमा बन्द हुँदा आपूर्तिमा असर
उपल्लो डोल्पाका बासिन्दाका लागि चीनसँगको सीमा व्यापार व्यापारिक गतिविधिमा मात्र सीमित छैन । खाद्यान्न, नुन, तेल, लत्ताकपडालगायत दैनिक उपभोग्य सामग्रीको आपूर्ति पनि यसैसँग जोडिएको छ ।सीमा नाका लामो समय बन्द हुँदा उपल्लो डोल्पाका बजारमा वस्तुको अभाव र मूल्यवृद्धिको समस्या देखिने गरेको छ । चीनतर्फको नाका नियमित नहुँदा त्यहाँको आपूर्तिको अर्को महत्वपूर्ण आधार भेरी करिडोर बन्ने गरेको छ ।तर भेरी करिडोरको सडक पूर्वाधार अझै पूर्णरूपमा भरपर्दो बन्न सकेको छैन । जाजरकोट–डोल्पा सडक खण्डमा वर्षायाममा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुँदा सुर्खेत र जाजरकोट हुँदै डोल्पासम्म खाद्यान्न तथा अन्य सामग्री पुर्याउन कठिन हुने गरेको छ ।हाल उपल्लो डोल्पामा धेरैजसो सामग्री खच्चडमार्फत ढुवानी गर्नुपर्ने अवस्था छ । सडक अवरुद्ध हुँदा ढुवानी लागत बढ्ने र त्यसको प्रत्यक्ष प्रभाव बजार मूल्यमा पर्ने गरेको छ ।
पुल निर्माणमा ढिलाइले करिडोर प्रभावित
भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा १३ वटा पक्की पुल निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ । करिब ११८ किलोमिटर सडक खण्डमा पुल निर्माणको प्रक्रिया अघि बढे पनि करिडोरका कतिपय महत्वपूर्ण खण्डमा सहज यातायात सञ्चालन हुन सकेको छैन ।जाजरकोटतर्फका पाँच वटा मोटरेबल पुल सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । पुल निर्माणमा भएको ढिलाइका कारण वर्षायाममा यातायात सञ्चालन प्रभावित हुने गरेको छ ।गत महिना नलगाड नगरपालिका–११ स्थित तासुगाड खोलामा आएको बाढीले सडक, कजवे तथा झोलुङ्गे पुलमा क्षति पुर्याउँदा भेरी करिडोर अवरुद्ध भएको थियो । त्यसपछि डोल्पामा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समस्या देखिएको थियो ।
हिमपातअघि खाद्यान्न मौज्दात गर्नुपर्ने चुनौती
अब उपल्लो डोल्पामा अर्को चुनौती थपिँदैछ– हिमपात । हिमपात सुरु हुने समय नजिकिँदै जाँदा सीमा नाका र सडक दुवै अनिश्चित रहेमा स्थानीयवासीले थप समस्या भोग्नुपर्ने अवस्था आउन सक्छ ।हिउँदअघि खाद्यान्न, इन्धन, औषधि तथा अन्य अत्यावश्यक सामग्री पर्याप्त मात्रामा मौज्दात गर्नुपर्ने स्थानीयवासीको आवश्यकता छ । चीनतर्फका नाका नियमित सञ्चालनमा आए सामग्री ल्याउन सहज हुने भए पनि सीमा क्षेत्रमा आवश्यक प्रशासनिक, सुरक्षा तथा व्यापारिक पूर्वाधार प्रभावकारी बनाउनुपर्ने स्थानीय बताउँछन् ।मरिम र क्याटो नाका लामो समय बन्द हुँदा उपल्लो डोल्पाको जनजीवन तथा व्यापारमा प्रत्यक्ष असर परेको थियो । सन् २०२४ मा मरिम नाका छोटो अवधिका लागि पुन: सञ्चालनमा आए पनि सीमा व्यापारलाई नियमित बनाउन पूर्वाधार तथा व्यवस्थापनका चुनौती अझै बाँकी छन् ।
धो क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाको तयारी
उपल्लो डोल्पाका बासिन्दालाई प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम दुनै पुग्न चारदेखि पाँच दिनसम्म लाग्ने गरेको छ । नागरिकता, सिफारिसलगायत सेवा लिन सदरमुकाम पुग्नुपर्ने हुँदा स्थानीयवासीलाई समय र खर्च दुवै बढी लाग्ने गरेको छ ।यही समस्या कम गर्न डोल्पो बुद्ध गाउँपालिकाको धो क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको छ । कार्यालय प्रमुख पदमबहादुर शाहीका अनुसार दशैँअघि कार्यालय सञ्चालन गर्ने तयारी गरिएको छ ।कार्यालय सञ्चालनका लागि इन्टरनेट र विद्युत्को समस्या भने अझै समाधान हुन बाँकी छ । इन्टरनेट व्यवस्थापनका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको तथा वैकल्पिक ऊर्जामार्फत विद्युत् आपूर्ति गर्ने तयारी गरिएको शाहीले बताए ।कार्यालयका लागि पुरानो स्थानीय तहको भवन प्रयोग गर्ने तयारी छ ।
सीमा, सडक र प्रशासनसँग जोडिएको भविष्य
उपल्लो डोल्पाको दीर्घकालीन विकासका लागि चीनसँगको सीमा व्यापार महत्वपूर्ण भए पनि एउटै बाह्य आपूर्तिमा निर्भर रहने अवस्था अन्त्य गर्न आन्तरिक सडक सञ्जाललाई भरपर्दो बनाउनुपर्ने स्थानीय बताउँछन् ।भेरी करिडोरको निर्माणसँगै डोल्पासम्म नियमित यातायात सञ्चालन हुन सके ढुवानी लागत घट्ने, बजार विस्तार हुने र स्थानीय उत्पादनले बाहिरी बजार पाउने सम्भावना बढ्ने विश्वास छ । त्यसका लागि सडक, पुल, सीमा नाका र स्थानीय प्रशासनिक संरचनाको विकासलाई सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ ।स्थानीयवासीको हातमा पाँच वर्षका लागि मान्य हुने सीमा पास पुगेका छन् । तर पास पाउनु मात्रै सीमा पार गर्ने सहज अवस्था होइन । शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ भन्छन्, ‘सीमा पास त बाँडियो, चीनसँग जोडिएका नाका नियमित रूपमा कहिले खुल्छ भन्ने मुख्य विषय हो ।’त्यससँगै अर्को चुनौती पनि छ– हिमपात सुरु हुनुअघि उपल्लो डोल्पाका बस्तीमा खाद्यान्न, इन्धन, औषधि र अत्यावश्यक सामग्रीको पर्याप्त मौज्दात तथा वैकल्पिक आपूर्ति व्यवस्था कसरी सुनिश्चित गर्ने ?