संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ ।चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव पार्छ ।होक्काइडो युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले जापानिका चामलमा आध्यान गरेका छन् । जापानिका चामल पकाएपछि नरम र अलि टाँसिने हुन्छ । यो चामल विश्वभर १५ प्रतिशत प्रयोग हुन्छ ।टोलीले जापानभरका ५६ प्रकारका जापानिका चामलको परीक्षण गुरेको थियो । उनीहरूले खैरो, रातो, हरियो र कालो चामलको अध्ययन गरेका थिए । यो अनुसन्धान फुड रिसर्च इन्टरनेसनलमा प्रकाशित भएको छ ।‘चामलमा फ्याटको मात्रा कम भए पनि यसले पोषणयुक्त मान निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ,’ प्रमुख लेखक एसोसिएट प्रोफेसर सिद्धबसावे गौडाले भने, ‘यसले सेल मेम्ब्रेनको क्षमता कायम राख्न, ऊर्जा भण्डारण गर्न र शरीरमा आवश्यक सिग्नल पठाउन मद्दत गर्छ ।’अनुसन्धानकर्ताहरूले लिक्विड क्रोमेटोग्राफी र मास स्पेक्ट्रोमेट्री प्रविधि प्रयोग गरे । उनीहरूले जापानिका चामलमा १९६ प्रकारका विभिन्न लिपिड अणुहरू पहिचान गरे । ती लिपिड अणुहरू पाँच मुख्य समूहमा बाँडिएका छन् ।कालो र हरियो चामलमा स्वास्थ्य प्रवर्द्धन गर्ने लिपिडको मात्रा बढी पाइयो । यी चामलहरूमा एफएएचएमएफए र एलएनएपीई नामका उपयोगी फ्याटहरू थिए ।यी लिपिडहरूले सुन्निने समस्या घटाउन र मेटाबोलिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छन् । चामलमा एफएएचएमएफए पहिलो पटक फेला पारिएको हो ।अनुसन्धानकर्ताहरूले प्रयोगशालामा मानव पाचन प्रणालीको वातावरण बनाएर परीक्षण गरे। उनीहरूले पकाएको चामलमा एन्जाइम हालेर स्टार्च पच्ने गति मापन गरे। यसले खाना खाएपछि ब्लड सुगर कति छिटो बढ्छ भन्ने देखाउँछ ।कालो र हरियो चामलले सेतो चामलको तुलनामा ब्लड सुगर ढिलो बढाएको पाइयो । यी चामलको स्टार्च बिस्तारै पच्ने भएकाले ग्लुकोज रगतमा विस्तारै प्रवेश गर्छ । यसले मुटुको स्वास्थ्य सुधार गर्न र टाइप २ डाइबिटीजको जोखिम घटाउन मद्दत गर्छ ।यो अनुसन्धान टोलीले नयाँ बायोएक्टिभ लिपिडहरूको खोजी गरिरहेको छ ।‘हाम्रो अनुसन्धान टोलीले जापानी माछा, हर्बल चिया र समुद्री झारमा नयाँ बायोएक्टिभ लिपिडहरू पत्ता लगाएको छ,’ गौडाले थपे, ‘यसले जापानका लिपिडयुक्त खाद्य स्रोतहरूलाई प्रकाशमा ल्याउन मद्दत गरेको छ ।’यो नतिजाले उपभोक्ताहरूलाई सही चामल छान्न मद्दत गर्नेछ ।‘मानिसहरू विभिन्न रङ्गका चामलका स्वास्थ्य फाइदाबारे जान्न र आफ्नो आवश्यकता अनुसार चामल छान्न उत्सुक हुन सक्छन्,’ गौडाले भने, ‘हाम्रो निष्कर्षले डाइबिटीज र अन्य रोगहरू व्यवस्थापन गर्न नयाँ फङ्सनल चामलका उत्पादनहरू विकास गर्न सहयोग पुर्याउनेछ भन्ने हामीलाई आशा छ ।’