टीकापुरमा घरदैलो स्वास्थ्य सेवा सुरु, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई राहत


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ। चैत महिनादेखि लागू गरिएको यस कार्यक्रमअन्तर्गत प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गरी ७० वर्षमाथिका नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण घरमै पुगेर गर्न थालिएको हो।

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीका अनुसार, स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य परीक्षण, रोग पहिचान, उपचार तथा परामर्शसँगै आवश्यक औषधि निःशुल्क वितरण गरिरहेका छन्। कार्यक्रमअनुसार हरेक महिना चार दिन समुदायमै पुगेर सेवा दिने कार्यतालिका बनाइएको छ।

घरमै सेवा पाउन थालेपछि ज्येष्ठ नागरिकहरू उत्साहित भएका छन्। उच्च रक्तचापजस्ता दीर्घरोगबाट पीडित नागरिकले नियमित उपचारमा सहजता आएको बताएका छन्। उनीहरूका अनुसार अस्पताल धाउनुपर्ने झन्झट हटेपछि उपचार निरन्तरता दिन सहज भएको छ।

स्वास्थ्यकर्मीहरूले पनि घरदैलो सेवा प्रभावकारी बन्दै गएको बताएका छन्। बिरामीको समय र खर्च बचत हुनुका साथै परिवारकै उपस्थितिमा सेवा दिँदा उनीहरू थप सुरक्षित र सहज महसुस गर्ने गरेका छन्। साथै सरसफाइ, पोषण र जीवनशैलीसम्बन्धी परामर्शले दीर्घकालीन स्वास्थ्य सुधारमा मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

नगरपालिकाले यो कार्यक्रमलाई कार्यविधि बनाएर नियमित रूपमा सञ्चालन गर्ने योजना अघि बढाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।