प्रधानमन्त्रीको भनाइले रेजिडेन्सी डाक्टरलाई झनै अन्याय


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालको एक मेडिकल कलेजमा रेजिडेन्सी गरिरहेका एक साथीले आफ्नो समस्या सुनाए –

रेजिडेन्सी सुरू गरेको दुई हप्तामा मलाई 'स्ट्रेस फ्र्याक्चर' भयो। मलाई दुई हप्तामा लगातार तीनपटक ७२ घन्टाको ड्युटी परिसकेको थियो।

कामकै दौरान फ्र्याक्चर भएपछि एक दिन आराम गर्ने सोचेर निवेदन दिन जाँदा सम्बन्धित अधिकारीले भने – आएको दुई हप्तामै बिदा चाहिने तिमीले रेजिडेन्सी कति वर्षमा सक्ने सोचेका छौ?

स्ट्रेस फ्र्याक्चर भएका कयौं बिरामी हेरेर 'आराम गर्नु नै तपाईंको एक मात्र उपचार हो' भन्दै सम्झाएको थिएँ। मलाई नै त्यस्तो भएपछि सबै जानेकै मान्छेले त्यसरी वचन लगाउँदा पहिलोपटक आफ्नै कलेज बिरानो लाग्यो। मानवीयता उत्पत्ति नै नभएको ठाउँमा पो आएछु कि भन्ने प्रश्न आफैलाई सोधिरहूँ जस्तो भयो।

रेजिडेन्सी छोडूँ त वर्षौंदेखि यही कुरिरहेको, निरन्तरता दिऊँ त मानसिक मात्र होइन शारीरिक स्वास्थ्यमा पनि प्रत्यक्ष असर पर्ने भयो। बडो दुबिधामा परेँ।

यति भनेर साथी रोकिए।

म सुरूमै भन्छु, तपाईं नेपालको मेडिकल शिक्षाबारे जानकार हुनुहुन्न भने यो आलेखले तपाईंलाई बिझाउन सक्छ।

यो आलेखमा म नेपालमा रेजिडेन्ट चिकित्सकको वर्तमान धरातलीय यथार्थ र उनीहरूमाथि कलेज सञ्चालकहरूले गरिरहेको दादागिरीबारे चर्चा गर्दैछु। यो दादागिरीलाई प्रश्रय दिइरहेका सरोकारवाला निकायको रबैयाको पनि चर्चा गर्दै छु।

 

के हो रेजिडेन्सी?

चिकित्सा शिक्षाको विद्यार्थी साढे ६ वर्षको एमबिबिएस पढाइ पूरा गरेर नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि चिकित्सक बन्छ।

नेपाल सरकारको नियमअनुसार सरकारको छात्रवृत्तिमा पढेको हो भने एमबिबिएस पूरा गरेपछि दुई वर्ष र आफ्नै खर्चमा पढ्नेले एक वर्ष अनिवार्य चिकित्सा सेवा गरेपछि मात्र मास्टर्स प्रवेश परीक्षामा समावेश हुन पाउने प्रावधान छ।

एमबिबिएसको तुलनामा मास्टर्स तहमा सिट कम हुने भएकाले प्रत्येक वर्ष मास्टर्स प्रवेश परीक्षामा सहभागी हुनेको संख्या स्वतः बढ्दै जान्छ।

प्रवेश परीक्षा उत्तीर्ण भएपछि प्राप्तांक अनुसार विषय छनोट गर्न पाइन्छ। कोही डाक्टर सरकारी प्रावधान अनुसार सेवा पूरा गर्नासाथ त कोही धेरै वर्षपछि मात्र यस चरणमा पुग्छन्।

रेजिडेन्सी भनेको केही वर्ष एक्लै चिकित्सकीय अभ्यास गरेका चिकित्सकले थप विशेषज्ञता हासिल गर्न लिने डिग्री हो, पूर्णतः सिकारू चिकित्सक वा विद्यार्थी होइन। यो डिग्रीमा कक्षाकोठामा राखेर पढाइने होइन। बिरामीकै वरपर बसेर अनि रोगका बारेमा बृहत् छलफल गरेर नै विशेषज्ञता हासिल गर्ने प्रक्रिया हुन्छ। यो पढाइ तीन वर्षको हुन्छ।

चिकित्सक जतिसुकै काबिल वा जतिसुकै ठूलो डिग्री लिएको किन नहोस्, ऊ 'विद्यार्थी' भइरहन चाहन्छ।

नेपालमा रेजिडेन्ट चिकित्सकको अवस्था

डाक्टर गोविन्द केसीको सत्याग्रहअघि नेपालमा मेडिकल कलेज र मेडिकल शिक्षाको अवस्था कस्तोसम्म थियो भन्ने चर्चा यहाँ नगरौं। बितेको केही वर्षमा उल्लेखनीय सुधार भएको छ। दुःखद पक्ष पनि छ। पटकपटक भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने जिम्मेवार पक्षहरू नै मेडिकल कलेज सञ्चालकका प्रवक्ता जस्तो बन्ने गरेका छन्। कतिपय सम्झौताहरू कागजमै सीमित छन्।

शुल्कको कुरा

डा. केसीसँग सहमति हुनुपहिले नेपालमा एमडी र एमएस पढ्न डेढ करोड रूपैयाँसम्म तिरेका चिकित्सक भेटेको छु। अहिले सरकारले नै २३ लाख रूपैयाँ तोकिदिएको छ। यसबाहेक अनधिकृत रूपमा परीक्षा शुल्क, लाइब्रेरी शुल्क इत्यादि भनेर थप लाखौं रूपैयाँ असुल्ने गरेको रेजिडेन्ट चिकित्सकहरू नै बताउँछन्।

मेडिकल कलेजका प्रमुख खम्बा बनेर खट्ने रेजिडेन्ट चिकित्सकहरूसँग सामान्यतया कुनै देशमा पनि शुल्क लिइँदैन बरू उचित पारिश्रमिक दिइन्छ।

विडम्बना! नेपालमा कमसेकम आठौं तहमा वर्षौं काम गरेर थप विशेषज्ञता हासिल गर्न लागेका चिकित्सकलाई श्रमको उचित मूल्य देऊ भनेर माग गर्दा निजी मेडिकल सञ्चालकहरू 'हामी पढाउन सक्दैनौं' भनेर उल्टै घुर्की लगाउँछन्।

चिकित्सा शिक्षा आयोगले 'कति सिटमा तपाईंको दाबी रहन्छ' भनेर फारम भर्न दिएको समय मेडिकल कलेजहरूले एकमुस्ट खारेज गरिदिए।

ड्युटीको कुरा

मानिसका लागि काम, आराम र मनोरञ्जन भनेर निश्चित समय परापूर्वकालमै छुट्टयाइएको छ। सामान्यतया हामी ८-१० घन्टा काम गर्छौं। तपाईं कल्पना गर्न सक्नुहुन्छ! एउटा रेजिडेन्ट चिकित्सकले लगातार ७२ घन्टासम्म काम गर्नुपर्छ, लगातार तीन दिन।

घरपरिवार, समाज, मनोरञ्जनका लागि समय त परको कुरा, कहिलेकाहीँ त आँखा झिमिक्क गर्न समेत पाइँदैन, आरामले खाने त कल्पनाबाहिरको कुरा!

हो, चिकित्सा सेवाको पेसा संवेदनशील छ। बिरामीको जीवनसँग प्रत्यक्ष सरोकार हुने भएकाले अलिक बढी खट्नैपर्छ। तर लगातार तीन दिन वा हप्तामै १४० घन्टासम्म खटाउनु उचित छ? वैज्ञानिक छ? यसबारे सरोकारवाला निकाय बोल्नु पर्दैन?

एक जना रेजिडेन्ट चिकित्सक तीन दिन बिदा लिएर आफ्नो बिहेका लागि गएका थिए। 

कलेजबाट मण्डपमै फोन आयो – भोलि जसरी पनि काममा आउनू!

ती साथीले आफ्नो पीडा सुनाए – बरू आफन्तको बिहेमा हप्ता दिन समय निकालेको थिएँ, आफ्नै बिहेका लागि तीन दिन समय मिलाउन तनाव भयो।

उनको सल्लाह छ – कि रेजिडेन्सी नै नगर वा रेजिडेन्ट हुन्जेल बिहे नगर!

यो आलेखको आरम्भमा आफूलाई स्ट्रेस फ्र्याक्चर भएको कुरा गर्ने डाक्टरले रेजिडेन्सी सुरू गरेको ६ महिनामा दस किलो तौल घटेको बताए। यति अन्तरालमा दस किलो तौल घट्नु मेडिकल हिसाबले राम्रो मानिँदैन।

अर्का एकजना रेसिडेन्ट दाइले सुनाए – आठ दिनमा लगातार दुईपटक ७२ घन्टा ड्युटी गर्नुपरेपछि औसतमा मुस्किलले तीन घन्टा सुत्न पाएँ। निद्रा पुगेन, खानको कुनै ठेगाना भएन।

मैले यो लेख तयार पार्ने क्रममा रेजिडेन्सी गरिरहेका र हालै रेसिडेन्सी पूरा गरेका दस जना चिकित्सकसँग छलफल गर्दा अधिकांशले केही महिनामै दस किलोसम्म तौल घटेको बताए।

एक चिकित्सकले भने – एक दिन आमा मलाई भेट्न आउँदा म दुब्लाएको देखेर रूनुभयो। ठूलै रोग पो लाग्यो कि भनेर अहिले पनि चिन्ता गर्नुहुन्छ।

यस्तो अत्यधिक दबाब र खटाइ जरूरी हुन्छ? शरीरले थेग्न सक्छ?

यस्तै रेजिडेन्सी पार गरेर प्रोफेसर भएकाहरू चिकित्सकहरू भन्छन् – हामीले त पार लगायौं, तिमीहरूले नसक्ने हुन्छ!

उनीहरू आफ्नो भोगाइबाट युवा चिकित्सकका लागि सहजीकरण गर्नेतिर सोच्दैनन् बरू आफ्नो कुण्ठा ओकल्छन्।

सिक्ने-सिकाउने शैली समयअनुसार वैज्ञानिक बनाउनु र्ने हो। नियमकानुन पनि समय अनुकूल परिमार्जन हुन्छ। चिकित्सकको रेजिडेन्सी यति धेरै अव्यावहारिक र अवैज्ञानिक हुँदा पनि सरकारी निकाय मौन छन्।

समाधानको उपाय

कुनै समस्याको समाधान खोज्न पहिला समस्या स्वीकार गर्नुपर्छ। नेपालमा निजी मेडिकल कलेजले रेजिडेन्ट चिकित्सकमाथि मानवताविरोधी काम गरिरहेका छन्। सरकारी कलेजहरूमा समेत चरम शोषण भइरहेको छन्।

एउटा चिकित्सकले आफ्नो मानसिक स्वास्थ्य सबल नगराई बिरामीको उपचार गर्न सक्दैन। आफै सिकिस्त बिरामी हुँदा एक दिन पनि आराम नपाउने चिकित्सकले अर्को बिरामीलाई 'पर्याप्त आराम गर्नू' भनेर सम्झाउनुपरेको हुन्छ।

अहिले नेपालभरका रेजिडेन्ट चिकित्सकहरूको साझा माग छ — न्यूनतम आठौं तहलाई दिइने सेवासुविधा देऊ।

हाल निजी मेडिकल कलेजले रेजिडेन्ट चिकित्सकलाई मासिक १८ हजारदेखि २० हजार रूपैयाँसम्म दिने गरेका छन्। सरकारले तोकेभन्दा अन्य शुल्क कुनै बहानामा लिनुभएन। हप्तामा काम गर्ने घन्टा तोक्नुपर्‍यो। घरपरिवार, समाज, मनोरञ्जन, दिनरात, सार्वजनिक बिदा नभनी एकोहोरो खट्ने रेजिडेन्ट चिकित्सकलाई 'मान्छे' को रूपमा व्यवहार गर्नुपर्‍यो।

यति मानवीय कुरो त सबै जिम्मेवार पक्षले स्वीकार गर्नुपर्ने होइन र?

आजभन्दा महिना दिनअगाडि, निजी मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र बहादुर कार्कीले आफूहरूलाई 'रेजिडेन्ट चिकित्सक नै नचाहिने र अब सरकारले ६० लाखमा पढाऊ भनेर अनुरोधै गरे पनि नपढाउने' भनेर सार्वजनिक रूपमै बोले।

त्यसको केही घन्टामै भरतपुर अस्पतालका प्रमुख प्रा.डा. कृष्ण पौडेलले लेखे — भरतपुर अस्पताल कम्तीमा दस भिन्नभिन्न विषयमा रेजिडेन्ट चिकित्सक लिन सक्षम छ।

यो विवाद चलेको महिना दिनपछि पनि समस्या जहाँको त्यहीँ नै छ। यसले नयाँ शैक्षिक सत्रमा कम्तीमा दुई महिना ढिलाइ भइसकेको अवस्था छ। नयाँ शैक्षिकसत्र अघि भर्नुपर्ने स्वमूल्यांकन फारम निजी मेडिकल कलेजहरूले अहिलेसम्म भरेका छैनन्।

मंसिर ८ गते प्रधानमन्त्री केपी ओली सहित सम्पूर्ण सरोकारवाला निकायहरूसँग भएको छलफलमा प्रधानमन्त्रीले स्वमूल्यांकन फारम भर्दा रेजिडेन्ट चिकित्सकलाई दिने शुल्क अहिले लेख्नु नपर्ने र त्यो ठाउँ खाली छोडे हुने भनेर सार्वजनिक भएको कुराले युवा चिकित्सकहरू चिन्तित भएका छन्।

सँगै, लामो लडाइँबाट प्राप्त उपलब्धि अन्ततः खेर जाने जोखिम बढेको छ। सरकारको आधिकारिक निकाय चिकित्सा शिक्षा आयोगले दिएको निर्देशनसमेत खुलेआम अवज्ञा गर्दै निजी मेडिकल कलेजहरू राज्यबिहीनताको अवस्थाको फाइदा उठाउने प्रयासमा छन्। अझ, प्रधानमन्त्रीले नै स्वमूल्यांकन फारममा भत्ताको रकम लेख्नु नपर्ने भनिदिएपछि सञ्चालकहरूको मनोबल अझै उच्च भएको छ।

'समाजवाद उन्मुख' राज्यमा एउटा डिग्रीका लागि डेढ करोड रूपैयाँसम्म शुल्क लिने गरिएकोमा डा. गोविन्द केसीको एक्लो प्रयासबाट २३ लाख रूपैयाँमा झर्न सम्भव भएको छ। सरकार अलिक बढी जिम्मेवार भएर धरातलीय यथार्थ आत्मसात गर्ने हो भने दीर्घकालीन समाधान हुन असम्भव छैन।

प्रिय प्रधानमन्त्रीज्यू, एक नागरिक, एक युवा चिकित्सकको नाताले जति नै विरोध गरे पनि तपाईं हामी सबैको अभिभावक हो। अझ, निजी मेडिकल कलेजको चपेटामा परेका हामी युवा चिकित्सकले तपाईंको अभिभावकीय नेतृत्वको अपेक्षा गरेका छौं।

हामी युवा चिकित्सक अहिले देशव्यापी आन्दोलनका कार्यक्रममा छौं। अस्पतालमा बसेर बिरामी हेर्नुपर्ने हामी चिकित्सकलाई सडकमा पुर्‍याउनबाट रोक्न तपाईं एक निर्देशन पर्याप्त छ।

बिन्ती, यो पटक हामी युवा चिकित्सकको पक्षमा उभिइदिनोस् न है!

(यो लेख अद्यावधिक गरी प्रकाशन गरिएको हो)

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।