हामी सबैको जीवनको मूल सुरुवात जहाँबाट भएको हो — त्यो आँगन, त्यो आशीर्वाद, त्यो अपार माया र त्यो मौन सहारा कोही अरू होइन, हाम्रा बाबुआमा वा हाम्रा जीवनका ज्येष्ठ व्यक्तिहरू हुन्। ती व्यक्ति जसले न त कुनै भौतिक भत्ता मागे, न त कुनै मोल। बस, हामीलाई राम्रो बनोस् भनेर आफ्नो जीवनको प्रत्येक सुख, हाँसो, आशा अनि ऊर्जा अर्पण गरे।
आज उनीहरू उमेरको थ्रेसहोल्ड पार गरिरहेका छन्। शरीर कमजोर भएको छ, आँखामा पूर्वजस्तो चमक छैन, तर मन भने अझै हामीप्रतिको मायाले उज्यालो छ। उनीहरू हाम्रो वर्तमानका आधार हुन्, हिजोका निर्माता र भोलिको दर्पण।
प्रश्न उठ्छ — के हामी उनीहरूको सन्दर्भमा चुप लागिरहन सक्छौं? अबश्य सक्दैनौ त्यहि नस्स्केर नै हामीले वृद्धाश्रम सहयोग समिति शुरु गरेउ धेरै गर्न नसके पनि केहि चाहि गरेका छौ
अहिलेको समाजमा देखापर्दै गएको गम्भीर चुनौती भनेकै ‘ज्येष्ठ नागरिकप्रति मौनता’ हो। हाम्रो अगाडि अपाङ्गता देख्दा जति दया देखाउँछौं, त्यो भन्दा कम संवेदना हामी हाम्रो आफ्नै बाबुआमाको थकित हातप्रति देखाउँछौं। उनीहरूको उपेक्षा, हेला, दुव्र्यवहार सामान्यजस्तो देखिन थालेको छ।
अझ दुःखको कुरा के छ भने, समाजको प्रत्येक तह – घर, टोल, प्रशासन, नीति निर्माणकर्ता, सञ्चारमाध्यम, विद्यालयदेखि विश्वविद्यालयसम्म – सबैले ‘बोल्न’ छोडेका छन्। जुन वाणी उनीहरूले हामीलाई सिकाए, त्यसै वाणीले हामी उनीहरूका लागि आवाज उठाउन नसक्नु, हाम्रो नैतिक पतन हो।
ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारहरू अनेक प्रकारका हुन्छन् — शारीरिक, मानसिक, आर्थिक, सामाजिक। कोही बाबुआमाले छोरा–बुहारीसँग एक गिलास तातो चिया माग्दा “किन हैरान पार्नुहुन्छ?” भन्ने जवाफ पाउँछन्, त कोही हप्तौं अस्पतालको बेडमा नाति–नातिनीहरूको अनुहार नदेखी बिताउँछन्।
धेरैजसो दुव्र्यवहार ‘नदेखिने’ प्रकारका हुन्छन् — समय नदिने, निर्णयमा सहभागी नगराउने, सम्पत्तिमा अधिकार नदिने, भलाकुसारी नगर्ने, ‘परेको मान्छे’ जस्तो व्यवहार गर्ने। यी सबै व्यवहार मानसिक हिंसाको रूप हुन् जसको असर शरीरभन्दा बढी आत्मामा पर्दछ।
हामी ‘आधुनिकता’ र ‘स्वतन्त्रता’को नाममा परिवारलाई ‘व्यक्तिगत प्रोजेक्ट’जस्तो हेर्न थालिसकेका छौं। सन्तानले विवाहपश्चात् आफ्ना बाबुआमालाई आफ्नो ‘दायित्व’ नभनी ‘बोझ’ ठान्न थालेका छन्। कोही त आफ्ना बाबु आमाको लागि बृद्धाश्रमको कोठा ‘गिफ्ट’ गरिदिन्छन्, त्यो पनि जन्मदिनको उपलक्ष्यमा।
के हामीले कहिल्यै सोच्यौं – जब हामी रोगी हुन्छौं, असहाय महसुस गर्छौं, त्यतिबेला हामीसँग को रहन्छ? त्यो अन्तिम सहारा हाम्रा आमा–बुबा वा घरका वृद्ध सदस्य नै हुन्। जीवनको गति फेरिँदै जाँदा उनीहरू नै हाम्रा अभिभावकबाट हाम्रो आश्रय बन्न पुग्छन्।
हाम्रा व्यवहार र संस्कारले समाजको स्वरूप बनाउँछ। हामी आज हाम्रा बुवाआमासँग जे गरिरहेका छौं, त्यही संस्कार हाम्रा सन्तानले हेरेका छन्। यदि हामीले बृद्ध आमाको हातबाट मोबाईल खोसेर टाढा फ्याँक्छौं भने, भविष्यमा त्यो मोबाईल हामी माथि पनि फ्याँकिन सक्छ।
समाज भनेको ऐना जस्तै हो — जसरी हेर्छौं, त्यस्तै देखिन्छ। जुन बोली बोन्छौं, त्यो बोली नै फर्केर आउँछ। यसैले, ज्येष्ठ नागरिकप्रति गरिने व्यवहार भविष्यमा हाम्रो जीवनको प्रतिबिम्ब हो भन्ने बुझ्न आवश्यक छ।
हामी सबै नेताजस्तो भाषण गर्न सक्दैनौं, तर आफ्नी आमालाई “तपाईंलाई माया लाग्छ” भन्न त सक्छौं। हामी सबै पत्रकार होइनौं, तर आफ्नो घरको भित्तामा “बुवाको अनुभव अमूल्य छ” भनेर लेख्न सक्छौं। हामी सबै शिक्षक होइनौं, तर आफ्ना बालबालिकालाई “हजुरबा/हजुरआमाको आशीर्वाद के हो” भन्ने बुझाउन सक्छौं।
बोल्नु भनेको केवल भाषण गर्नु होइन — त्यो त भावना साट्ने प्रक्रिया हो। बोल्न सक्ने हिम्मत भनेकै विवेक हो। हामी बोल्न डराउन थालेका छौं, खासगरी अन्यायका विरुद्ध। त्यो मौनता नै सह–अपराध हो।
हामी जहाँ उभिएका छौं — विद्यालय, कार्यालय, समाजसेवा संस्था, सञ्चार माध्यम, सरकार, वा घर — त्यहीँबाट ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाबारे केही न केही गर्न सकिन्छ।
शिक्षकले कक्षामा 'ज्येष्ठ नागरिक' सम्बन्धी पाठ समावेश गर्न सक्छन्।
सञ्चारकर्मीले समाचार बनाउँदा वृद्धवृद्धाको आवाजलाई प्राथमिकता दिन सक्छन्।
स्थानीय सरकार प्रमुखले वडामा बृद्ध सेवा केन्द्र स्थापना गर्न सक्छन्।
विद्यार्थीहरूले वृद्धवृद्धासँग जीवन अनुभवको अन्तर्वार्ता लिएर सार्वजनिक गर्न सक्छन्।
हाम्रा आमा–बाबुसँग बस्दा कहिलेकाहीँ उनीहरूको पुराना सम्झनाहरू सुनेर हाँस्न सक्छौं।
नेपालको संविधानले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक सुनिश्चित गरे तापनि, कार्यान्वयनमा अझै कमजोरी देखिन्छ। सम्पत्ति संरक्षण, इच्छापत्र व्यवस्था, दुव्र्यवहार विरुद्ध कारबाही, हेल्पलाइन सेवा, ज्येष्ठ प्रहरी सेलजस्ता विषयहरू अझै परिकल्पनाको चरणमै सीमित छन्।
राज्यले आफ्नो भूमिका बलियो बनाउनु अत्यावश्यक छ। तर राज्य मात्र होइन, नागरिकको तहबाट हुने सचेतना र सहानुभूतिले मात्र सामाजिक परिवर्तन सम्भव हुन्छ।
हामी बृद्धाश्रम बनाउँदै गयौं, तर आत्मसम्मान हराउँदै गयौं। हरेक घरमा यदि एक कोठा पुस्ताको अनुभवका लागि छुट्याउन सकियो भने, हाम्रा बृद्धश्रमहरू खाली हुन सक्छन्। 'हेरचाह गर्ने मान्छे छैन' भन्ने वाक्य, हामीजस्तै संवेदनाहीन समाजका लागि गालिमा झापटजस्तै लाग्नुपर्ने हो।
हामीले घरका वृद्ध सदस्यलाई “तपाईंले अब आराम गर्नुहोस्” भन्नुपर्छ — न कि “तपाईं अब थकित हुनुहुन्छ, बाहिर जानुहोस्”।
बृद्धावस्था जीवनको कमजोर र संवेदनशील चरण हो। यो उमेरमा मानिसलाई धन चाहिंदैन, तर सम्बन्ध चाहिन्छ। उनलाई दवाई होइन, आफ्नोपन चाहिन्छ। उनलाई विलासिता होइन, सम्मान चाहिन्छ।
त्यसैले, उनीहरूको आवाज बन्ने, उनीहरूको सहारा बन्ने, उनीहरूको सुरक्षाकवच बन्ने जिम्मेवारी हामी सबैको हो। हामी जस–जसको जीवन आज आफन्त, साथी वा छरछिमेकको अनुभव र सहयोगले भरिएको छ, त्यो भरको ऋण अब तिर्ने समय हो।
हामी जहाँ उभिएका छौं, त्यहीँबाट केहि सकारात्मक पहल गर्न सकिन्छ।
त्यहीँबाट कोही एक वृद्ध आमाको हात समात्न सकिन्छ।
त्यहीँबाट कोही बाबुको अनुहारमा मुस्कान ल्याउन सकिन्छ।
त्यहीँबाट कोही एउटा बालकलाई 'आफ्नो बृद्ध बुबालाई सम्मान गर्ने' संस्कार दिन सकिन्छ।
ज्येष्ठ नागरिक कुनै बोझ होइनन् — उनीहरू त समाजको जरा हुन्। जरा बलियो भयो भने मात्र वृक्ष हरियो हुन्छ।
हामी अब मौन बस्न सक्दैनौं। कम्तिमा, केही त बोलौं…
हामी जहाँ उभिएका छौं, त्यहाँबाट…
ज्येष्ठ नागरिकको सम्मानमा केही शब्द त बोलौं।
जय ज्येष्ठ नागरिक।