गाजामा चलिरहेको इजरायली नाकाबन्दी, नरसंहार र बारम्बारको विस्थापनले स्थानीय बालबालिका भोकमरी, कुपोषण र गम्भीर मनोवैज्ञानिक आघातमा छन्। सेभ द चिल्ड्रेन, इन्टिग्रेटेड फूड सेक्युरिटी फेज क्लासिफिकेशन र वार चाइल्ड संस्थाका हालैका प्रतिवेदनले गाजामा भोकमरी चरम बिन्दुमा पुगेको र मानवीय संकट भयावह रहेको औंल्याएका छन्। उनीहरूका अनुसार बालबालिका भोकले बेहोश भइरहेछन्, पलपल मृत्युको डरमा बाँचिरहेछन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले त्यहाँ तत्काल युद्धविराम र सहायता गर्नुपर्नेमा जोड दिइरहेका छन्।
सेभ द चिल्ड्रेनका अनुसार उक्त संस्थाका गाजास्थित क्लिनिकहरूमा पाँच वर्षमुनिका तीव्र कुपोषित बालबालिकाको संख्या चार महीनामा १० गुणा बढेको छ। गत जुलाईको पहिलो साता स्वास्थ्य जाँचिएका तीन हजार ५३३ बालबालिकामध्ये २५९ जना (सात प्रतिशत) उपचारका लागि भर्ना गरिएका थिए, जबकि गत मार्चमा यो संख्या केवल २८ (एक प्रतिशत) थियो। कुपोषणको उपचारका लागि जुलाईका अघिल्ला दुई सातामा भर्ना भएका बालबालिकाको संख्या गत जून महीनाभरको तथ्यांकसँग बराबर छ।

जुलाईका दुई सातामा सेभ द चिल्ड्रेनका क्लिनिकमा जाँचका लागि आएकामध्ये ४३ प्रतिशत गर्भवती र स्तनपान गराउने महिला कुपोषित पाइए जुन मार्चमा इजरायलले गाजामा पूर्ण रूपमा नाकाबन्दी लगाउनुअघिको तुलनामा तीन गुणा बढी हो। रिपोर्ट अनुसार कुपोषणका कारण आमाहरूको दूध आएको छैन। अर्कातिर युद्धपछि जन्मिएका बच्चाले पाउरोटी बाहेक केही खान पाएका छैनन्। यसले गर्दा तिनमा स्वादको ग्रन्थि नै विकास हुन सकेको छैन।
“बालबालिका हाम्रा आँखैअघि मरिरहेछन्, यो नियोजित भोकमरी हो,” सेभ द चिल्ड्रेनका क्षेत्रीय निर्देशक अहमद अल्हेन्दावी भन्छन्, “जीवनरक्षक खाना र पोषक सामग्री थन्किइरहेका छन्। नाकाबन्दीले हामीलाई काम गर्न दिएको छैन। यी सबै प्रमाणले इजरायलले भोकमरीलाई पनि युद्धको हतियार बनाइरहेको संकेत गर्छन्।”
इन्टिग्रेटेड फूडको पछिल्लो प्रतिवेदनले गाजापट्टीमा पाँच वर्षमुनिका ७० हजारभन्दा बढी बालबालिका, १७ हजार गर्भवती र स्तनपान गराउने आमाहरूले तीव्र कुपोषण सामना गरिरहेको औंल्याएको छ।
ग्लिया परियोजनाका चिकित्सा निर्देशक डा. तारेक लुबानीले गाजाको नासेर अस्पतालमा सन् २०२४ जुनदेखि सेवा दिंदै आएका छन्। उनी इजरायलको आक्रमण र नाकाबन्दीका कारण गाजामा बिरामी र स्वास्थ्यकर्मीले पनि भयानक अवस्था भोगिरहेको बताउँछन्। “नाकाबन्दीपछि खाना आउन बन्द भएको छ। तर उनीहरूले खाद्यान्न छिर्न नदिनु नयाँ कुरा होइन,” उनी भन्छन्, “२००६ देखि नै भोकमरी गराउन खोजिएको थियो। अलिअलि नाकाबन्दी त २०१४ देखि नै लगाएका हुन्।”
गाजामा भोकमरीले निम्त्याएको आपत्कालबारे मानवीय संगठनहरूले गरेको ‘प्रेस वेबिनार’ मा लुबानीले यी कुरा व्यक्त गरेका हुन्। “सहायता माग्नेहरूलाई निशाना बनाइएको छ। स्वास्थ्यकर्मीलाई सुनियोजित रूपमा आक्रमण गरिएको छ,” उनले भनेका छन्, “इन्धन र चिकित्सा सामग्रीको अभावले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त छ।”
स्वास्थ्यसेवाका आधारहरू ध्वस्त पारिएकाले आफूहरूले दिने उपचार मात्रले बिरामी जोगिने स्थिति नरहेको उनको भनाइ छ। “हामीले भेटेसम्म बालबालिकाको उपचार गर्ने प्रयास गरिरहेका छौं, तर उनीहरूलाई जोगाउने एक मात्र उपाय भनेको भोकमरी अन्त्य हुनु हो। त्यो युद्धविरामबाट मात्र सम्भव छ,” लुबानी भन्छन्।
वार चाइल्ड एलायन्स र कम्युनिटी ट्रेनिङ सेन्टर फर क्राइसिस म्यानेजमेन्टको अध्ययन अनुसार गाजाका बालबालिकामध्ये ९६ प्रतिशतले आफूहरू मृत्युको मुखैमा रहेको अनुभूति गरिरहेका छन्। आधा जतिले आफूहरू युद्धकै कारणले मर्न सक्ने ठान्छन्। र, ४७ प्रतिशत चाहिं ‘जन्नत’ वा ‘भगवान्को घर’ मा खाना पाइने आशमा मृत्यु आइहालोस् भन्ने चाहन्छन्।

“बालबालिकाले घरहरू ध्वस्त भएको, आफन्तहरू मारिएको र स्कूलहरू भग्नावशेषमा परिणत भएको मात्र देखेका छन्,” वार चाइल्ड एलायन्सका सीईओ रब विलियम्स भन्छन्, “यस्ता दृश्यले उनीहरूको मानसिक स्वास्थ्यमा निरन्तर आक्रमण गरिरहेछन्।”
१८ मार्चयता गाजाका सात लाख ६२ हजार ५०० मानिस विस्थापन भएका छन्। तिनमा २५ हजारभन्दा बढी १५ देखि २२ जुलाईको बीचमा विस्थापित छन्। त्यहाँ सन् २०२३ यता करीब ६० हजार मानिस मारिएका छन्। एक लाख ४३ हजार जना घाइते भएका छन्।
गाजामा खाद्य उपभोगको स्थिति यति खस्किएको छ कि प्रत्येक तीनमध्ये एक जना दिनभर भोकै पर्ने स्थिति छ। विलियम्सका अनुसार बालबालिका भन्न थालेका छन्, “हामी मर्न चाहन्छौं, किनकि स्वर्गमा खाना खान पाइन्छ।यहाँका बच्चाहरू यति थाकिसके कि अब त रुन पनि सक्दैनन्।”
यी संस्थाहरूले गाजामा तत्काल युद्धविरामको माग गर्दै खाना, स्वच्छ पानी, चिकित्सा सामग्री र अन्य सहायता निर्बाध आउन दिनुपर्नेमा जोड दिएका छन्। “यो पूर्ण रूपमा मानव निर्मित संकट हो। युद्धविराम र सहायता प्रवाह हुँदा बालबालिकालाई बचाउन सकिन्छ।
कुपोषणले बालबालिकाको मानसिक र शारीरिक विकासमा बाधा पुर्याउनुका साथै घातक रोग समेत लगाउन सक्ने भन्दै वार चाइल्डले मानसिक स्वास्थ्य र मनोसामाजिक उपचार विस्तार गर्नुपर्ने जनाएको छ। “गाजाको यो मानवीय संकटले यहाँ अन्तर्राष्ट्रिय समुदायले तत्काल हस्तक्षेप गर्नुपर्ने आवश्यकता देखाउँछ। नत्र एउटा पूरै पुस्ता जोखिममा पर्नेछ।