बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सोरु गाउँपालिका-८ रुमा गाउँकी ३४ वर्षीया सुनिता बुढाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ।
बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सुनिताले छोरा जन्माएकी थिइन्। घरमै सुत्केरी भएकी बुढाको सालनाल नझरेपछि उनलाई उपचारका लागि घरबाट एक घण्टा टाढा रहेको सीप प्रसूति केन्द्रमा पुर्याइएको थियो। अत्यधिक रक्तस्राप हुन थालेपछि थप उपचारका लागि प्रसूति केन्द्रले जिल्ला अस्पताल लैजान सल्लाह दिएपछि घर परिवारले राति १० बजे जिल्ला अस्पतालमा पुर्याएका थिए। उनको उपचारका क्रममा बिहीबार ३ बजे मृत्यु भएको हो।
राति १० बजे अस्पतालमा पुगेका बुढालाई डाक्टरहरूले चेक जाँच गर्दा अत्यधिक रक्तश्रापका कारण उनका शरीरमा न्यून रगत देखिएको उपचारमा संलग्न डाक्टर नहकुल शाहीले जानकारी दिए। बुढालाई तत्काल आवश्यक रगत चढाउनु पर्ने थियो।
जिल्ला अस्पतालमा बल्ड बैंक नहुँदा तत्काल रगत उपलब्ध गराउन सकिएको थिएन। पछि सदरमुकाम गमगढीका युवाहरूले रगत दिएका थिए। रगत चढाएपछि होस आएको भए पनि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजाने तयारी गर्दा गर्दै उनको मृत्यु भएको हो।