नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि डाँडामा बसेर लाखौं रुपैयाँ कमाउने सपना सम्भव भएको बताएका छन् ।मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।आफूले कीर्तिपुरको डाँडामा बसेर महिनामा दुई/तीन लाख रुपैयाँ कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको उनको भनाइ थियो ।उनले कुनै पनि डाँडामा बसेर लाखौं रुपैयाँ कमाउने विषय कल्पना र सपना रहेको बताउँदै त्यो सम्भव हुने आधार भएको जिकिर गरे ।महामन्त्री थापाले हरेक व्यक्तिलाई सिप र क्षमता दिएको खण्डमा उक्त सिप र क्षमताले लाखौं रुपैयाँ कमाउने सपना पूरा हुने बताए ।उनले विश्व अहिले ज्ञान अर्थतन्त्रमा रहेको उल्लेख गर्दै चीनमा जन्मिएका एक व्यक्तिले डिपसिक बनाएर सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि एआईमा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने ठाउँमा पुगेको स्मरण गरे । उनले ज्ञान अर्थतन्त्रमा हरेक सम्भावनाको नेटवर्क खुलेको समेत जिकिर गरे ।‘मैले कीर्तिपुरको डाँडा भनिसकेपछि तपाईंहरू सबैलाई एउटा प्रसंग याद आउँछ । त्यो प्रसंग कोट्याएको दिनको म छोटकरीमा सम्झन्छु, एउटा डाँडामा बसेर दुई/तीन लाख रुपैयाँ कमाउन सकिन्छ भन्ने मेरो इमाजिनेसनको कुरा मैले गरें, कतिलाई रमाइलो कुरा पनि भयो । तर, त्यो इमाजिनेसन हो, त्यो ड्रिम हो , सम्भव छ । सम्भव के-ले छ भन्दा, एउटा व्यक्तिलाई हातमा स्किल र क्षमता दियो भने त्यो स्किल र क्षमताले सम्भव छ,’ थापाले भने ।उनले अगाडि भने, ‘अब हामी नलेज इकोनोमीमा छिरेका छौं, त्यो नलेज इकोनोमीमा चाइनामा जन्मिएको एउटा केटाले डिपसिक बनाएर सिलिकन भ्यालीले उसलाई अनुमोदन नगर्दा पनि एआईमा च्याट जीपीटीसँग कम्पिटिसन गर्न सक्छु भन्ने ठाउँमा पुग्दै गर्दा खेरी त्यो के-ले बनाएको छ ? सब ठाउँमा सम्भावनाको नेटवर्क खुलेको छ ।’उनले ज्ञान अर्थतन्त्रमा लाखौंलाई नयाँ अवसर आउने बताउँदै विपन्न समुदायलाई उक्त अवसरबाट वञ्चित हुन नहुने बताए ।