बाजुरामा ‘गत वर्षभन्दा यसपटक स्याउ राम्रो फलेको छ , तर बजार पाउन सधैँ सकस


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 बाजुराका हिमाली क्षेत्रमा स्याउ उत्पादन बढ्दै गएको छ । किसानका बारीमा स्याउका बोट फलले झुकेका छन् । उत्पादन बढेपछि किसानको उत्साह पनि बढेको छ । बारीमा फलेको स्याउ टिपेर बजारसम्म पुर्‍याउने बेला यहाँका किसानलाई समस्या छ ।जिल्लाको बुढीनन्दा नगरपालिका–१० का नैन बोहरा अहिले यही दोधारमा छन् । तीन चरणमा गरी ६ हजारभन्दा बढी स्याउका बिरुवा रोपेका बोहरा यतिबेला बारीमा पाकेका स्याउ टिप्न व्यस्त छन् । स्याउ उत्पादन उनको परिवारको पुरानै पेसा हो । पछिल्ला वर्षमा भने उनले यसलाई व्यावसायिक खेतीका रूपमा विस्तार गरेका छन् ।बोहराका चारै भाइ अहिले स्याउ खेतीमा सक्रिय छन् । आफ्नै जमिनमा मात्र नभई भाडामा जग्गा लिएरसमेत उनले खेती विस्तार गरेका छन् । बारीमा स्याउको रेखदेखका लागि तीन जनाले रोजगारीसमेत पाएका छन् ।‘हामी चारै भाइ अहिले यही उत्पादनमा लागेका छौँ । पहिलेभन्दा अहिले यसबाट ठुलो सम्भावना देखेका छौँ,’ बोहराले भने ।उनले स्वदेशी तथा विदेशी गरी चार प्रकारका स्याउ लगाएका छन् । उत्पादन बढ्दै गएपछि केही वर्षमै खेतीबाट राम्रो आम्दानी हुने उनको अपेक्षा छ ।बोहराको बारीको रेखदेख गर्दै आएका रणबहादुर रोकायाले पनि यस क्षेत्रमा स्याउ उत्पादनको अवस्था पहिलेभन्दा राम्रो भएको बताए । उनका अनुसार बुढीनन्दा–१० मा मात्रै ४० भन्दा बढी परिवार स्याउ खेतीमा संलग्न छन् ।‘यस वर्ष उत्पादन निकै राम्रो छ । हाम्रो मात्रै होइन, आसपासका किसानको बारीमा पनि स्याउ राम्रो फलेको छ,’ रोकायाले भने ।बुढीनन्दाकै पाण्डुसैनका शेरबहादुर रावतले ८ हजार स्याउका बिरुवा रोपेका छन्, तीमध्ये दुई हजारभन्दा बढी बोटले उत्पादन दिन थालेका छन् । बाँकी बोटले पनि आगामी वर्षमा उत्पादन दिने उनको अपेक्षा छ ।रावतका अनुसार केही बोटमा एक क्विन्टलभन्दा बढी स्याउ फलेको छ । उत्पादन धेरै भएका कारण कतिपय रूखका हाँगा नै भाँचिएका छन् । बजारमा प्रतिकिलो ३०० रुपैयाँसम्म पर्ने स्याउ आफूले बारीबाट भने प्रतिकिलो १०० रुपैयाँमा बिक्री गरिरहेको उनले बताए ।बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका किसानको अवस्था पनि उस्तै छ । यतिबेला उनीहरू स्याउ टिप्ने र बिक्रीको तयारीमा छन् ।यहाँ साउनको पहिलो सातादेखि स्याउ पाक्न सुरु भए पनि मुख्य उत्पादन भदौको दोस्रो सातापछि बजारका लागि तयार हुने किसानहरू बताउँछन् । बारीमै पाकेर झर्ने अवस्था आउनुअघि किसानहरू स्याउ टिपेर बिक्री गर्न हतारिनुपर्ने बाध्यता छ ।स्वामिकार्तिक खापर गाउँपालिका–१ रुडिका जनक बुढाका अनुसार गत वर्ष बारीबाटै प्रतिकिलो ३० रुपैयाँमा स्याउ बिक्री गरेका किसानले यस वर्ष कम्तीमा ५० रुपैयाँ पाउने अपेक्षा गरेका छन् ।‘ब्यापारीले ५० रुपैयाँमा लिएनन् भने आफैं बजारमा लगेर बेच्ने योजना छ,’ उनले भने ।बाजुरामा गोल्डेन, डेलिसिएस, गाला, फुजीसँगै स्थानीय जातका स्याउ उत्पादन हुँदै आएका छन् । स्याउबाट आम्दानी हुन थालेपछि किसानले परम्परागत अन्नबाली लगाउने जमिनसमेत बिस्तारै स्याउ खेतीमा प्रयोग गर्न थालेका छन् ।कम विषादी प्रयोग हुने भएकाले बाजुराको स्याउलाई बाहिरी जिल्लाका बजारमा समेत माग हुने गरेको किसान बताउँछन् । कतिपय व्यापारी स्याउ खरिद गर्न किसानकै बारीसम्म पुग्ने गरेका छन् ।कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा अहिले करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । आगामी केही वर्षमा यो क्षेत्रफल १८० हेक्टरभन्दा बढी पुग्ने अनुमान केन्द्रको छ ।गत वर्ष जिल्लामा दुई हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको थियो । त्यसमध्ये करिब ६०० मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिशबहादुर विष्टले बताए ।उनका अनुसार यस वर्ष उत्पादन अझ बढ्ने अनुमान छ ।‘गत वर्षभन्दा यसपटक स्याउ राम्रो फलेको छ । करिब ७०० मेट्रिक टनभन्दा बढी स्याउ जिल्ला बाहिर जाने सम्भावना देखिन्छ,’ विष्टले भने।बाजुराको हावापानी र माटो स्याउ उत्पादनका लागि अनुकूल भएकाले खेती विस्तारको सम्भावना रहेको विष्ट बताउँछन् । किसानको आयआर्जन बढाउन केन्द्रले स्थानीय तहसँगको समन्वयमा बिरुवा वितरण, प्राविधिक सहयोग तथा बजारीकरणमा सहयोग गर्दै आएको उनले बताए ।उत्पादन बढेसँगै किसानको मुख्य समस्या अब बजार र ढुवानी बनेको छ । बारीमा उत्पादन भएको स्याउ बजारसम्म पुर्‍याउन सडकको अवस्थाले ठुलो चुनौती खडा गरेको किसानको गुनासो छ ।बुढीनन्दाको पाण्डुसैनबाट उत्पादित स्याउ मार्तडी हुँदै धनगढीलगायत बजारमा पठाउनुपर्ने हुन्छ । तर कोल्टी–मार्तडी सडकको खराब अवस्थाका कारण स्याउ ढुवानीमा समस्या भइरहेको किसान बताउँछन्।स्याउ उत्पादक कुम्भ बोहराका लागि उत्पादनभन्दा बजार अहिले ठुलो चिन्ताको विषय बनेको छ ।‘मेहनत गरेर स्याउ उत्पादन गरेका छौँ । तर बजारसम्म कसरी पुर्‍याउने भन्ने समस्या छ,’ उनले भने ।सडकको अवस्था सुधार नभएसम्म स्याउ बजारमा लैजान हतार गर्दा उल्टै घाटा हुने जोखिम रहेको रावत बताउँछन् । त्यसैले उनले अहिलेसम्म आफ्नो बारीको स्याउसमेत पूर्ण रूपमा टिपेका छैनन् ।यसअघि समयमा बजार पुर्‍याउन नसक्दा स्याउ बिक्री नभएर गाईबस्तुलाई खुवाउनुपरेको अनुभव पनि किसानसँग छ ।‘पहिले पनि बिक्री नभएपछि स्याउ गाईबस्तुलाई खुवाउनुपरेको थियो । अहिले पनि त्यस्तै अवस्था नआउला भन्न सकिँदैन, मार्तडी–कोल्टी सडक राम्रो नहुँदासम्म यो समस्या दोहोरिरहन्छ,’ उनले भने ।उत्पादन बढेको अवस्थामा किसानको स्याउ बजारसम्म पुर्‍याउन सहयोग गर्ने बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले बताए ।उनका अनुसार नगरपालिकाले किसानसँग समन्वय गरेर नजिकका बजारसम्म स्याउ पुर्‍याउने विकल्पबारे छलफल गरिरहेको छ । कृषि एम्बुलेन्समार्फत ढुवानीमा सहयोग गर्ने तयारीसमेत भइरहेको उनले बताए ।बाजुरामा स्याउ खेती विस्तार हुँदै जानु किसानका लागि आम्दानीको नयाँ आधार बनेको छ । तर उत्पादन बढ्दै जाँदा त्यसअनुसार बजार, सडक र ढुवानीको व्यवस्था नहुने हो भने किसानले उचित मूल्य पाउन नसक्ने जोखिम कायमै छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।