किन आवश्यक छ बालबालिकाका लागि खेल-आधारित शिक्षण विधि ?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्ले पेडागोजी (खेल शिक्षाशास्त्र) भनेको बालबालिकाको सिकाइ र विकासलाई सहज बनाउन खेल र रमाइलो गतिविधिहरूलाई शिक्षण विधिको रूपमा प्रयोग गर्ने शैक्षिक दृष्टिकोण हो । यो शिक्षण पद्धति विशेष गरी साना बालबालिकाहरूका लागि प्रभावकारी मानिन्छ, किनभने बालबालिकाहरूले खेलमार्फत स्वाभाविक रूपमा सिक्छन् । यसले बालबालिकाको रचनात्मकता, सामाजिक सीप, समस्या समाधान गर्ने क्षमता र भावनात्मक विकासलाई प्रोत्साहन गर्छ।

प्ले पेडागोजीमा निम्न कुराहरू समावेश हुन्छन्:

 

 

खेल-आधारित सिकाइ : बालबालिकालाई रमाइलो र स्वतन्त्र वातावरणमा सिक्ने अवसर दिने, जस्तै: खेलौना, कथा, नाटक वा रचनात्मक गतिविधिहरू ।

बाल-केन्द्रित दृष्टिकोण : शिक्षकले बालबालिकाका रुचि र आवश्यकता अनुसार गतिविधिहरू डिजाइन गर्छन् ।

 

 

सामाजिक र भावनात्मक विकास : खेलमार्फत सहकार्य, साझेदारी र भावनात्मक नियन्त्रण सिक्ने।

रचनात्मकता र कल्पनाशक्ति : खेलले बालबालिकालाई नयाँ विचारहरू अन्वेषण गर्न र समस्याहरू समाधान गर्न प्रेरित गर्छ ।

यो पद्धतिले बालबालिकालाई दबाबमुक्त वातावरणमा सिक्ने अवसर प्रदान गर्छ, जसले उनीहरूको आत्मविश्वास र जिज्ञासालाई बढाउँछ । यस पेडागोजी अन्तर्गत बालबालिकाहरूले खेल्दै सिक्ने हुनाले शिक्षक-शिक्षिकाले छेउमा बसेर मार्गदर्शन गर्ने गर्छन् । बालबालिकाहरू सक्रिय अन्वेषक र खोजकर्ता स्वयम् हुने गर्दछन् ।

बालबालिकाहरूलाई खुसी, सफल र आजीवन सिक्ने बनाउनका लागि उमेर अनुकूल अभ्यासहरू आवश्यक हुन्छन् ।

खेलमुखी सिकाइ, यसको मुख्य उद्देश्य हो । यसले सक्रिय, आकर्षक र सार्थक गतिविधिहरू प्रयोग गर्छ जसले सोच्न र सिक्न प्रोत्साहन दिन्छ । खेलमार्फत सिकाइले सामाजिक अन्तरक्रिया र बारम्बार प्रयास गर्ने अवसर प्रदान गर्छ, जसले सिकाइ गुणात्मक रुपमा सुधार गर्छ।

खेल-आधारित शिक्षणका प्रकारहरू

१. स्वतन्त्र खेल र आत्म-निर्देशित खेल

स्वतन्त्र खेल र आत्म-निर्देशित खेल संरचनाबिनाको क्रियाकलापमा पर्छ । बालबालिकाहरूलाई कल्पनाशक्ति प्रयोग गर्न प्रोत्साहित गर्छ । बालबालिकाहरूलाई अन्वेषण गर्न र आफूलाई अभिव्यक्त गर्न दिने आफैँ कप्तान बन्ने अवसर दिन्छ । बालबालिकाका पहल, स्वतन्त्रता र समस्या समाधान गर्ने क्षमतालाई प्रोत्साहित गर्छ । भाषिक, सामाजिक र भावनात्मक विकासमा लाभ पुग्छ ।

२. निर्देशित खेल

यस खेलमा बालबालिकासँगै वयस्कको संलग्नता हुने हुनाले नयाँ सीपहरू सिक्न मद्दत पुग्छ । नि:खुल्क खेलले बालबालिकाहरूका लागि ठूलो मूल्य राख्छ । यस खेलमा बालबालिकाहरू वयस्कबाट निर्देशित हुन्छन् । यसले बालबालिकाको स्वायत्तता र वयस्कको मार्गनिर्देशनलाई जोड्ने काम गर्छ । निर्देशित खेलले शिक्षक-शिक्षिकाहरूलाई बालबालिकाका खेललाई विशिष्ट सिकाइ लक्ष्यहरूका वरिपरि केन्द्रित गर्न अनुमति दिन्छ । यो विभिन्न विषयहरूमा लागू गर्न सकिन्छ । जस्तैः गणितमा स्थान मूल्य सिक्नेदेखि साहित्य गतिविधिमा तुकबन्दी शब्दहरू पहिचान गर्नेसम्म । शिक्षक-शिक्षिकाले बालबालिकाहरू खेल्दा हेर्ने, टिप्पणीहरू गर्ने, प्रश्नहरू सोध्न प्रोत्साहन गर्ने गर्नुपर्छ । यसले गर्दा बालबालिकाहरूको सिकाइ थप परिस्कृत गर्न मद्दत मिल्छ ।

३.खेलहरू

खेलहरूका डिजाइन, सिकाइका लक्ष्यहरू समर्थन गर्न वयस्कहरूले गतिविधिको संयोजन गर्ने भूमिका खेल्नुको सट्टा, खेलहरू आफैंले बाह्य सहायता प्रदान गर्छन् । खेलहरू जस्तै: संरचित गतिविधिहरू सिकाइका लक्ष्यहरूलाई बालबालिकाहरूका खेलसँग प्राकृतिक रूपमा जोड्ने अनुभवहरू संरचनागत गर्नु जसले उनीहरूका सिकाइलाई समर्थन गर्छ ।

शिक्षकरशिक्षिकाहरूले बालबालिकाहरूलाई छुट्टाछुट्टै टोलीमा राखी नियमहरू र अपेक्षाहरू पालना गर्दै प्रतिस्पर्धा गराउन सकिन्छ । दुवै निर्देशित खेल र खेलहरूमा बालबालिकाहरूलाई सहायता प्रदान गरिन्छ तर उनीहरू आफैँ सिकाइको नेतृत्व गर्छन् ।

खेल शिक्षाशास्त्रका समर्थक दार्शनिकहरू:

फ्रिड्रिख फ्रोएबेलको किन्डरगार्टेन दृष्टिकोण

फ्रोएबेलले सन् १८९० तिर पहिलो पटक औपचारिक रूपमा खेलका शैक्षिक फाइदाहरूको अध्ययन गरे। शिक्षामा खेलको महत्व स्पष्ट पार्ने प्रयासमा उनले ‘फ्रोएबेल्स गिफ्ट’ भनिने शैक्षिक खेलौनाहरूको श्रृंखला तयार गरे, जसले बालबालिकाको संज्ञानात्मक विकासमा सहयोग पुर्‍याउँछ भन्ने विश्वास उनले गर्थे।

खेल नै बालकको काम : मारिया मन्टेस्वरी

मारिया मन्टेस्वरीले फ्रोएबेलको विचारलाई अझ विस्तार गरिन् । उनले प्रारम्भिक बाल शिक्षामा खेललाई प्रोत्साहन दिँदै ‘ह्यान्ड्स–अफ्’ (हस्तक्षेप नगर्ने) दृष्टिकोण अपनाइन् जसमा शिक्षक-शिक्षिका वा प्रशिक्षकले खेलमा प्रत्यक्ष हस्तक्षेप नगरी निरीक्षकको रूपमा रहनुपर्छ भन्ने मान्यता छ ।

सन् १९२० तिर स्टाइनरले शिक्षामा खेलको पक्षमा वकालत गरे, जसमा शिक्षक-शिक्षिकालाई खेलमा अत्याधिक हावी सदस्यका रूपमा हेर्ने गरिन्थ्यो ।

रेजियो एमिलिया दृष्टिकोण (सन् १९५०-१९७०)ले यसको विपरीत शिक्षक-शिक्षिकाका सक्रिय सहभागीतालाई जोड दिन्छ । यसमा शिक्षक-शिक्षिकाले बालबालिकाहरूसँग खेल्दै सिकाइमा सहजता प्रदान गर्ने गर्दछन् ।

खेल-आधारित शिक्षण बालबालिकाहरूका विकास र वृद्धिका लागि अत्यावश्यक हुन्छ ।

खेलमार्फत बालबालिकाहरूले आफ्नो संसार बुझ्छन्, कल्पनाशक्ति विकास गर्छन् र शारीरिक दक्षता हासिल गर्छन् । खेलको अवसरको अभाव बालबालिकाहरूका भावनात्मक विकासमा नकारात्मक असर पार्छ, जसले चिन्ता, उदासी, ध्यान केन्द्रित गर्न कठिनाइ र आत्म-नियन्त्रण सम्बन्धी समस्या निम्त्याउन सक्छ । खेलबिनाको जीवनले युवा पुस्ताले स्वस्थ मानसिक र सामाजिक विकासका लागि आवश्यक सीपहरू सिक्न सक्दैनन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।