तेह्रथुमको पश्चिमी क्षेत्र र धनकुटा जिल्लाको माथिल्लो क्षेत्रका किसानका लागि बन्दगोभी (बन्दा) खेती आम्दानीको मुख्य आधार हो ।तेह्रथुम छथर गाउँपालिका, लालीगुराँस नगरपालिका त्यस्तै धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका तथा आसपासका ग्रामीण क्षेत्रमा अधिकांश किसानले नगदे बालीका रूपमा बन्दगोभी खेती गर्दै आएका छन । यहाँको चिसो हावापानी, उर्वर माटो र अनुकूल वातावरणका कारण उत्पादन राम्रो हुने भएकाले वर्षेनी ठूलो परिमाणमा बन्दा उत्पादन हुन्छ । तर, उत्पादन बढ्दै जाँदा किसानको आम्दानी भने बढ्न सकेको छैन । बरु उचित मूल्य नपाउने, समयमा मलको अभाव, बिचौलियाको चलखेल, र व्यवस्थित बजार नहुँदा किसानहरू बर्सेनि आर्थिक मारमा पर्दै आएका छन ।यतिबेला यस क्षेत्रका किसानले उत्पादन गरेको बन्दगोभी प्रतिकिलो ७ देखि ९ रुपैयाँमै बिक्री गर्न बाध्य छन । यो मूल्यले बीउ, मल, विषादी, मजदुरी, ढुवानीलगायत उत्पादनमा लागेको लगायत मेहनत सम्म धान्न सक्दैन । महिनौंको मेहनतपछि खेतबाट उत्पादन निकाल्ने किसानले अन्तत: लगानीसमेत उठाउन नसक्ने अवस्था भोगिरहेका छन् ।छथर गाउँपालिका–१ का किसान लाक्पा छुती शेर्पा वर्षाैदेखि बन्दगोभी खेती गर्दै आएका छन । उनका अनुसार मूल्य राम्रो भएका बेला व्यापारीहरू आफैँ गाउँ–गाउँ र घर-घरमा पुगेर बन्दा खरिद गर्न आउँछन । तर मूल्य घट्नेबित्तिकै व्यापारी हराउँछन् र किसान आफैँ बिक्रीका लागि बजार र व्यापारी खोज्दै हिँड्नुपर्ने बाध्यता हुन्छ । ‘अहिले प्रतिकिलो ७-९ रुपैयाँमा बन्दा बेचिरहेका छौं’, उनी भन्छन, ‘यस्तो मूल्यले त उत्पादनमा लागेको खर्च पनि उठ्दैन । खेतमा गरेको मेहनतको मूल्य नै पाइँदैन ।’ उनका अनुसार उत्पादन धेरै हुँदा व्यापारीहरूले मूल्य घटाइदिन्छन, उत्पादन कम हुँदा किसानसँग बेच्न बाली नै हुँदैन । दुवै अवस्थामा घाटा किसानकै हुन्छ ।यही गाउँका अर्का किसान बिक्रम राई पनि वर्षौंदेखि बन्दगोभी खेती गर्दै आएका छन । उनी भन्छन, ‘बीउ महँगो छ, मल महँगो छ, विषादी महँगो छ, मजदुरी बढेको छ, ढुवानी खर्च पनि धेरै छ । तर किसानले पाउने मूल्य भने घट्दो छ । कहिलेकाहीँ त ढुवानी खर्चसमेत उठ्दैन। यस्तो अवस्थामा खेती गरेर परिवार पाल्न गाह्रो हुँदै गएको छ ।’उनका अनुसार किसानको सबैभन्दा ठूलो समस्या बजारको अनिश्चितता हो । उत्पादन तयार भएपछि व्यापारीले मूल्य घटाइदिन्छन, किसानसँग भण्डारण गर्ने व्यवस्था हुँदैन, त्यसैले बाध्य भएर सस्तोमै बिक्री गर्नुपर्छ ।किसानले भोग्दै आएको अर्को ठूलो समस्या समयमा रासायनिक मल नपाउनु हो । खेतीको सबैभन्दा महत्वपूर्ण समयमा सरकारी अनुदानको मल उपलब्ध नहुँदा किसान निजी पसलबाट चर्को मूल्यमा मल खरिद गर्न बाध्य छन । कतिपय अवस्थामा निजी बजारमै पनि मल अभाव हुने भएकाले उत्पादन र गुणस्तरमा प्रत्यक्ष असर पर्ने गरेको छ ।‘खेतीको समय कुर्दैन, तर मल कहिल्यै समयमा आउँदैन’, किसानहरू भन्छन, ‘मल आउने बेलासम्म बालीले चाहिने समय नै बितिसकेको हुन्छ ।’ किसानले भोग्ने अर्को मुख्य समस्या बिचौलियाको चलखेल हो । किसानबाट अत्यन्तै कम मूल्यमा खरिद गरिएको बन्दगोभी बजारमा पुग्दा दोब्बर–तेब्बर मूल्यमा बिक्री हुन्छ । उपभोक्ताले महँगो मूल्य तिर्छन, तर किसानले भने उत्पादनको उचित मूल्य पाउँदैनन । किसान र उपभोक्ताबीचको अधिकांश नाफा बिचौलियाले लिने गरेको किसानहरूको गुनासो छ ।बजार व्यवस्थापनको कमजोरीले पनि किसानलाई ठूलो असर परेको छ । उत्पादन बढे पनि त्यसअनुसार संकलन केन्द्र, शीत भण्डार (कोल्ड स्टोर), प्रशोधन उद्योग र व्यवस्थित कृषि बजारको विकास हुन सकेको छैन । उत्पादन तयार भएपछि किसानसँग भण्डारण गर्ने विकल्प नहुँदा तत्काल बिक्री गर्नुपर्ने बाध्यता छ ।हरेक वर्ष किसानले उही समस्या दोहोर्याइरहेका छन । कहिले समयमा मल नपाउने, कहिले रोग–कीराको प्रकोप, कहिले ढुवानी समस्या, कहिले उत्पादन भएर पनि मूल्य नपाउने । समस्या वर्षेनी दोहोरिए पनि स्थायी समाधान हुन सकेको छैन । यसले कृषि पेशाप्रतिको आकर्षण घट्दै गएको छ । धेरै युवा वैदेशिक रोजगारीतर्फ लागिरहेका छन् भने गाउँमा वृद्धवृद्धा र महिलाले मात्रै खेती धान्ने अवस्था बन्दै गएको छ ।यति धेरै समस्या हुँदाहुँदै पनि यस क्षेधमा उत्पादन हुने बन्दगोभीको बजार भने फराकिलो छ । यहाँ उत्पादन भएको बन्दा धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड लगायत पूर्वी तराईका विभिन्न बजारमा बिक्री हुने गरेको छ । साथै छिमेकी देश भारतका सिलिगुडी, दार्जिलिङ, मिरिक, कालिम्पोङ, पानीट्यांकीलगायत विभिन्न स्थानमा समेत निर्यात हुँदै आएको छ । यसले पश्चिमीे बन्दगोभीको गुणस्तर र बजार सम्भावना दुवैलाई प्रमाणित गर्छ । तर विडम्बना के छ भने, अन्तरजिल्ला र अन्तरदेशीय बजारसम्म पुग्ने यही उत्पादनको वास्तविक लाभ भने किसानले पाउन सकेका छैनन ।किसानहरूका अनुसार समयमा मल उपलब्ध गराउने, उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने, बिचौलियाको नियन्त्रण गर्ने, सहकारीमार्फत प्रत्यक्ष बिक्रीको व्यवस्था गर्ने, संकलन केन्द्र र कोल्ड स्टोर निर्माण गर्ने तथा ढुवानीमा सहुलियत उपलब्ध गराउने हो भने मात्रै कृषि पेशा दिगो बन्न सक्छ । किसान उत्पादन गर्न असक्षम छैनन । उनीहरू मेहनती छन, उत्पादन पनि प्रशस्त गर्छन । समस्या उत्पादनमा होइन, बजार र नीतिगत व्यवस्थापनमा छ । मूल्य हुँदा व्यापारी घर–घरमा पुगेर बन्दा किन्ने, तर मूल्य घटेपछि किसान आफैँ बिक्रीका लागि भौंतारिनुपर्ने अवस्था अझै अन्त्य भएको छैन ।अहिले प्रतिकिलो ७ देखि ९ रुपैयाँमा बन्दा बिक्री गर्न बाध्य किसानले उत्पादनमा गरेको लगानीसमेत उठाउन सकेका छैनन् । यस क्षेत्रका किसानहरुले ५ रोपनी देखी ५० रोपनी क्षेत्रफलमा बन्दा खेती गर्दै आएका छन । किसानको पसिनाको उचित मूल्य सुनिश्चित गर्न नसकेसम्म किसानले हरेक वर्ष यही पीडा, यही संघर्ष र यही घाटा दोहोर्याइ रहनुपर्ने देखिन्छ ।