काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत किन परेनन् ७२ सहसचिव सरुवा हुँदा पनि


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले विभिन्न स्थानमा कार्यरत ७२ सहसचिवको सरुवा गर्‍यो । मन्त्रालय र एउटा निकायबाट अर्को निकायमा सरुवा गर्दा मन्त्रिपरिषद्ले गर्ने व्यवस्था अनुरूप त्यो बैठकको निर्णय साउन २८ गते सार्वजनिक भयो ।

ठुलो सङ्ख्यामा सहसचिव सरुवा हुँदा पनि लामो समय विवाद रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव सरोज गुरागाईँ सरुवा भएनन् । 

नगरप्रमुख बालेन्द्र साहसँग गुरागाईँको गत पुसदेखि विवाद छ । विवादका कारण नगरपालिकाको नीति तथा कार्यक्रम र आर्थिक वर्षको बजेट ल्याउन पनि ढिलाइ भएको थियो । यतिसम्म की नगरप्रमुख साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई आफ्नो कार्यकक्षमा छिर्न नदिएका नगर प्रमुख राजुनाथ पाण्डेलाई बलजफ्ती कार्यकक्षमा छिरेका गुरागाईँले निलम्बन गरे । उनको निलम्बनलाई चुनौती दिँदै पाण्डे अदालत गएपछि अदालतले निलम्बन फुकुवा गरिदिएपछि काममा फर्किएका छन् । 

विवादका बिच अहिले भने नगरप्रमुख साहले गुरागाईँलाई त्यहाँ राख्न चाहेका छैनन् भने गुरागाईँ आफै पनि विवाद गरेर बस्न चाहिरेका छैनन् । 

साह र गुरागाईँ दुवैले सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेका थिए । नगर प्रमुख साहको सचिवालयले साह र स्वयं गुरागाईँले सरुवाका लागि आग्रह गरेको तर सरुवा भएको नभएको जानकारी दियो । ‘नगर प्रमुखज्यूले र प्रमुख कार्यकारी अधिकृतज्यू स्वयंले सरुवाका लागि आग्रह गर्नुभएको हो । किन र कसरी सरुवा भएन । जानकारी पाइएन,’ साहको सचिवालयका एक सदस्यले भने । 

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले सरकारले सहसचिवहरूको सरुवा गरिसकेकाले यस विषयमा आफू नबोल्ने बताए । ‘सरकारले सहसचिवहरूको सरुवा गरिसक्यो । अब यस विषयमा के बोल्नु, म बोल्दिन,’ गुरागाईँले रातोपाटीसँग भने । 

तर, मन्त्रालयले सरुवाका लागि पठाएको सूचीमा नाम नपठाएर हो या प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले टिप्पणी नउठाएर हो गुरागाईँको सरुवा भएन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव पीताम्बर घिमिरेले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईँले सरुवाका लागि आग्रह गरेको आफूलाई जानकारी नभएको बताए । 

‘सरुवा हुने सहसचिवहरू सरुवा भइहाल्नुभयो । अरूले मागेको मलाई जानकारी भएन,’ प्रशासन महाशाखा प्रमुख घिमिरेले रातोपाटीसँग भने, ‘काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतको सरुवाका लागि आग्रह आएको मेरो तहमा थाहा भएन ।’

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।