हामीले कस्तो पोषक तत्त्व पाउछु गुन्द्रुकमा ?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धेरै नेपालीको प्रिय खानेकुरा हो गुन्द्रुक । परम्परागत रुपमा यसलाई बाध्यताको तरकारीका रुपमा लिइन्थ्यो । खेतबारीमा तरकारी नफल्ने सुख्खा याममा निर्विकल्प हुन्थ्यो गुन्द्रुक । त्यसैले यसलाई गरिबको तरकारीका रुपमा अर्थ्याइन्थ्यो ।तर अहिले गुन्द्रुकप्रतिको दृष्टिकोण बदलिएको छ । गाउँमा भन्दा बढी शहरी क्षेत्रलाई रुचाइने र खोजि गरिने खानेकुरा बनेको छ गुन्द्रुक ।यो खास गरी तोरी, रायो वा मूलाको सागबाट बनाइन्छ । काउली वा अन्य सागबाट पनि गुन्द्रुक बनाउने गरेको देखिन्छ । सागलाई कुनै भाँडोमा खाँदेर केही दिन राखेपछि त्यो अमिलो हुन्छ अनि सुकाएपछि गुन्द्रुक तयार हुन्छ ।स्वादका लागि मात्रै नभएर पोषक तत्त्वका हिसाबमा पनि गुन्द्रुकको महत्त्व कम्ता छैन ।यसमा भिटामिन सी, प्रोबायोटिक्स, फाइबर र खनिजहरू पाइन्छन् । गुन्द्रुकले पेट र पाचन प्रणालीमा ठूलो सहयोग गर्छ—प्रोबायोटिक्सले आन्द्रा स्वस्थ राख्छ, फाइबरले कब्जियत हटाउँछ, र यसको अम्लताले पाचन सहज बनाउँछ । साथै, यसले रोग प्रतिरोधी क्षमता र पोषक तत्त्वको अवशोषण बढाएर समग्र स्वास्थ्यमा योगदान गर्छ ।गुन्द्रुक ‘फर्मेन्टेड’ खाना भएकाले यसमा ताजा सागको तुलनामा फरक र लाभकार पोषकतत्त्वहरू  पाइन्छन् ।

भिटामिन सी : गुन्द्रुकमा भिटामिन सि को मात्रा उच्च हुन्छ, यो रोग प्रतिरोधी क्षमता र छालाको स्वास्थ्यका लागि आवश्यक छ ।

प्रोबायोटिक्स : गुन्द्रुकमा प्रोबायोटिक्स पनि हुन्छ । जुन पेटको स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

फाइबर : सागबाट आएको फाइबर गुन्द्रुकमा रहन्छ, जसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।

खनिज : क्याल्सियम, आइरन र पोटासियम जस्ता खनिजहरू गुन्द्रुकमा पाइन्छन्, जुन हड्डी, रगत र स्नायुका लागि फाइदाजनक छन् ।

एन्टिअक्सिडेन्ट : गुन्द्रुकमा एन्टिअक्डिेन्टको मात्रा पनि हुन्छ जसले कोशिकालाई क्षतिबाट बचाउँछ ।

अमिनो एसिड : गुन्द्रुकमा प्रोटिनको सानो अंश टुक्रिएर अमिनो एसिड बन्छ, जुन शरीरले सजिलै प्रयोग गर्छ ।

कम चिल्लो र क्यालोरी : गुन्द्रुकमा चिल्लो र क्यालोरी न्यून हुन्छ, जसले यो तौल नियन्त्रणमा पनि उपयोगी बनाउँछ ।यी तत्त्वहरूको संयोजनले गुन्द्रुकलाई पोषक र स्वादिलो बनाउँछ । सागको पोषक तत्त्वलाई संरक्षण गर्नुका साथै थप स्वास्थ्यवर्द्धक गुणहरू थप्छ ।

गुन्द्रुकले पेट वा पाचनमा कसरी सहयोग गर्छ ?

गुन्द्रुकको सबैभन्दा ठूलो फाइदा यसको पाचन प्रणालीमा हुने सहयोग हो । गुन्द्रुकमा पाइने ल्याक्टिक एसिड ब्याक्टेरिया प्रोबायोटिक्सको रूपमा काम गर्छ । यी ब्याक्टेरियाले आन्द्रामा राम्रा सूक्ष्म जीवहरूको सन्तुलन कायम राख्छन् । यसले हानिकारक ब्याक्टेरियालाई बढ्न दिँदैन र पेटको स्वास्थ्य राम्रो राख्छ ।

पेट फुल्ने समस्या कम गर्छ

गुन्द्रुकले आन्द्राको ‘माइक्रोबायोम’ सूक्ष्म जीवहरूको समूहलाई बलियो बनाउँछ, जुन समग्र स्वास्थ्यको आधार हो ।

पाचन प्रक्रिया सहज बनाउँछ

गुन्द्रुकको फाइबरले पेटमा खाना राम्ररी टुक्रिन र आन्द्रामा सर्न सहयोग गर्छ । यसले कब्जियतको समस्यालाई रोक्छ र मल त्यागलाई नियमित बनाउँछ । साथै पेटमा ग्यास वा अपचको समस्या कम हुन्छ ।

पेटको अम्लता सन्तुलनमा राख्छ

गुन्द्रुकको अमिलो स्वाद ल्याक्टिक एसिडबाट आउँछ, जसले प्राकृतिक रूपमा पेटको पिएच सन्तुलनमा राख्छ । यसले एसिडिटी र अल्सर जस्ता समस्यालाई कम गर्छ । यसले पेटमा इन्जाइम उत्पादनलाई पनि प्रोत्साहन गर्छ, जसले खानालाई छिटो पचाउँछ ।

रोगप्रतिरोधी क्षमता बढाउँछ

वैज्ञानिक अध्ययनअनुसार, आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधी क्षमता एक अर्कासँग जोडिएका हुन्छन् । गुन्द्रुकको प्रोबायोटिक्स र भिटामिन सी ले पेटलाई बलियो बनाएर रोगसँग लड्ने शक्ति बढाउँछ । यसले डायरिया, पखाला र आन्द्राको संक्रमण जस्ता समस्यालाई पनि कम गर्छ ।

पोषक तत्त्वको अवशोषण बढाउँछ

गुन्द्रुकले आन्द्रालाई स्वस्थ राख्दा शरीरले अन्य खानाबाट भिटामिन र खनिज राम्ररी अवशोषण गर्न सक्छ । उदाहरणका लागि, आइरन र क्याल्सियमको अवशोषणमा सुधार हुन्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।