गोलभेँडाको मूल्य घट्यो, किलोको कति?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

समितिको तथ्यांक अनुसार बजारमा गोलभेँडा ठूलो, सानो लोकल र सानो टनेल गरी तीन प्रकारको हुन्छ। अहिले गोलभेँडा स्वदेशीसँगै भारतबाट पनि आयात भइरेको छ। 

ठूलो गोलभेँडा सलादका लागि होटल तथा रेष्टुरेन्टमा बढी खपत हुन्छ भने साना लोकल र टनेल गोलभेँडा दैनिक घरायसी भान्सामा प्रयोग हुन्छ।

मंगलबार कालीमाटी बजारमा ठूलो भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो ९० देखि एक सय रूपैयाँ छ। 

त्यस्तै, भारतीय सानो गोलभेँडाको मूल्य ५० देखि ६० रूपैयाँ छ। 

स्वदेशी सानो लोकल गोलभेँडा प्रतिकिलो थोक मूल्य ४५ देखि ५५, टनेल ७५ देखि ९५ रूपैयाँ र तराई गोलभेँडा ७५ देखि ८० रूपैयाँ छ। 

गत साता ठूलो भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो एक सय १० देखि एक सय २० रूपैयाँमा कारोबार भएको थियो। भारतीय सानो गोलभेँडा ८० देखि ९५ रूपैयाँमा कारोबार भएको थियो।  

 

त्यस्तै, स्वदेशी ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य  एक सयदेखि एक सय १०, सानो लोकल गोलभेँडा भने किलोको ८० देखि एक सय रूपैयाँ, टनेल गोलभेँडा एक सय देखि एक सय ३० र सानो तराई गोलभेँडा एक सय १० देखि एक सय २० रूपैयाँमा कारोबार भएको थियो। 

अहिले उत्पादन बढेकाले मूल्य घटेको कालिमाटी तरकारी बजारका गोलभेँडा व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। 

‘अहिले उत्पादन अलिकति बढेको छ। धादिङ, चितवन, काभ्रे, लालबन्दी लगायतका ठाउँबाट गोलभेँडा आइरहेको छ,’ उनले भने। 

उत्पादन बढ्दै गएकाले अझै मूल्य घट्ने उनको अनुमान छ। अहिले गोलभेँडा उपभोक्ताले किलोको एक सय रूपैयाँमा किनिरहेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।