बाघको आक्रमणबाट बारा अमलेखगञ्जस्थित जंगलमा एक जनाको मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 बाराको जितपुरसिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जस्थित चकरी जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मकवानपुरको मनहरी गाउँपालिकाका स्थायी बासिन्दा अन्दाजी ५०-५५ वर्षीय चन्द्रबहादुर भुलन मृत अवस्थामा फेला परेका हुन्। उनी वीरबहादुर थिङको बाख्रा चराउने कामदारका रूपमा कार्यरत थिए।

असार ३ गते बिहान करिब ११ बजे भुलन करिब ३०-४० वटा बाख्रा लिएर चकरी जंगलमा चराउन गएका थिए। साँझसम्म पनि उनी घर नफर्किएपछि परिवार र स्थानीयले खोजी सुरु गरेका थिए।
असार ४ गते बिहान करिब ७:३० बजे पुनः खोजी गर्ने क्रममा चन्द्रबहादुर भुलनको शव दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले खाएको जस्तो अवस्थामा फेला परेको हो। घटनास्थलनजिकै २७ वटा बाख्रा भने सकुशल फेला परेका छन्।

घटनालगत्तै वडा अध्यक्ष सुवास श्रेष्ठ, इलाका प्रहरी कार्यालय अमलेखगञ्जका बरिष्ट प्रहरी नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमान्डमा खटिएको टोली र स्थानीय बासिन्दाले खोजी कार्य गरेका थिए। प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी गएको छ।

यो घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ। र वन्यजन्तुको आक्रमणबाट हुने जोखिमबारे थप सुरक्षाका उपायहरू अपनाउनुपर्ने  आवश्यकता देखिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।