अभिभावक र बालबालिका बीच बलियो सम्बन्ध बनाउन :सकारात्मक व्यवहार र आचरण अवलम्बन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सकारात्मक अभिभावकत्व प्रेम, सम्मान र सहानुभूतिमा आधारित एक विधि हो । यसले अभिभावक र बालबालिका बीच बलियो सम्बन्ध बनाउन उपयुक्त सञ्चार, अनुशासन र उदाहरण मार्फत सकारात्मक व्यवहार र आचरण अवलम्बन गर्न प्रोत्साहित गर्छ ।

माया, सहानुभूति र सकारात्मक प्रोत्साहनको माध्यमबाट बालबालिकालाई जिम्मेवार, आत्मनिर्भर र आत्मविश्वासी व्यक्ति बनाउन सकिन्छ । अभिभावकत्वको यो विधिले परिवारमा आपसी प्रेम र विश्वास बढाउँदै सन्तुलित र मर्यादित जीवनयापनको आधारस्तम्भ तयार गर्छ

नेपालकै सन्दर्भमा हेर्ने हो भने अझै पनि परम्परागत अनुशासन पद्धति जस्तैः कडा अनुशासन, डर–धम्की र शारीरिक सजायको अधिक प्रयोग गरिन्छ तर यो समस्याको दीर्घकालीन समाधान होइन, बरु यसले बालबालिकाको सकारात्मक विकासलाई रोक्छ । त्यसैले हरेक अभिभावकले सकारात्मक अभिभावकत्व पद्धतिको अवलम्बन गर्न जरूरी छ । किनकि, यसले बालबालिकाको सर्वाङ्गीण पक्षहरूको विकासलाई सन्तुलन राख्दै उनीलाई आत्मनिर्भर, जिम्मेवार र आत्मविश्वासी बनाउन प्रोत्साहित गर्छ । त्यसो भए सकारात्मक अभिभावकत्वको केही महत्वपूर्ण आधारभूत तत्वहरूलाई हेरौं ।

बालबालिकासँगको सम्बन्ध : बालबालिका र अभिभावक बीचको गुणस्तरीय सम्बन्ध हुनुपर्छ किनभने सम्बन्ध सकारात्मक अभिभावकत्वको आधार हो । आफ्ना बालबालिका सँगै रही अर्थपूर्ण कुराकानी गर्ने, पढाउने वा पढ्ने, सँगै खेल्ने गर्नाले सम्बन्धलाई झन् प्रगाढ बनाउँछ । अभिभावकप्रति उसको विश्वास, सामीप्यता, आज्ञाकारिता बढ्छ र सकारात्मक सिकाइ धारण गर्छ ।

आफ्ना नानीबाबुलाई अरू व्यक्ति वा बालबालिकासँग तुलना गर्दा, सार्वजनिक ठाउँ वा अरूको अगाडि गाली वा नराम्रो व्यवहार गर्दा उनीहरूमा नकारात्मक भावना पैदा गर्छ, हीनताबोध गराउँछ जसले उनीहरूको आत्मविश्वासमा कमि आउँछ र तपाईंप्रतिको विश्वासको साथै सुमधुर सम्बन्धमा खलल पुर्‍याउँछ ।

सहानुभूति र समझदारी : बालबालिकाको मनोभावनाको बारेमा अभिभावकहरू जानकार हुन जरूरी छ । उसलाई के बाधा वा समस्या परिरहेको छ र उसले कस्तो सोचविचार र समाधानका उपायहरू खोजिरहेको छ वा समाधानप्रति अनभिज्ञ छ भन्ने कुरा अभिभावकले पहिल्याउनुपर्छ । उनीहरूको समस्यालाई गम्भीरता साथ लिई त्यसको समाधानको लागि समझदारी र सुझबुझपूर्ण तरिकाले समाधानको उपाय सिकाउनु र सघाउनुपर्छ ।

सकारात्मक व्यवहारको प्रोत्साहन : बालबालिकाको इच्छा, अपेक्षा र लक्ष्य के हो र कस्ता कुराहरूमा दक्षता राख्छन् भन्ने कुरामा अभिभावक सचेत हुन जरूरी छ । बालबालिकाको साना–ठूला उपलब्धिहरूमा स्याबासी दिने र राम्रो व्यवहारको प्रशंसा गर्नुपर्छ । प्रत्यक्ष कोही व्यक्ति वा कथा आदिका माध्यमबाट असल व्यवहार र त्यसको सकारात्मक प्रभावको बारेमा सिकाउँदै अनुसरणको लागि प्रोत्साहन गर्नुपर्छ ।

स्पष्ट नियम र सीमा : मानिस सामाजिक प्राणी र यही समाजमा नै जीवन व्यतीत गर्ने भएकोले व्यक्तिगत, पारिवारिक, धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक लगायत नियमको ज्ञान हुनु र यसको पूर्ण पालना गर्ने क्षमता राख्नुपर्छ । तसर्थ, अभिभावकले ती नियमहरू आफूले पालना गर्दै बालबालिकालाई समेत पालना गर्न अभिपे्ररित गर्नुपर्छ । बालबालिकालाई सानै उमेरदेखि नै नियमित अनुशासन र संस्कारको ज्ञान दिनु अभिभावकको कर्तव्य पनि हो ।

आफ्नो उदाहरण प्रस्तुत : बालबालिकालाई के सिकाइन्छ भन्दा पनि कस्तो व्यवहार प्रदर्शन गरिन्छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । अर्थात् बालबालिकाले धेरै कुरा आफ्ना अभिभावकको व्यवहारबाट पनि सिक्छन् । तसर्थ आफूले धैर्य, इमानदारी र जिम्मेवारपूर्ण व्यवहार प्रस्तुत गर्नुपर्छ ।

खुला र स्पष्ट सञ्चार : विकासगत विशेषताका हिसाबले बालबालिकाको विचार अभिव्यक्तिको तौरतरिका फरक पर्छ । कोसँग, कस्ता कुरा, कसरी अभिव्यक्त गर्ने भन्ने विश्वास र सञ्चार अभ्यासमा भर पर्छ । तसर्थ, बालबालिकाले आफ्नो विचार र भावना सहजै अभिव्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्न आवश्यक छ ।

उनीहरूको कुराहरू ध्यानपूर्वक सुन्ने र उपयुक्त प्रतिक्रिया जनाउने गर्नुपर्छ । प्रमाण सहित तथ्यमा आधारित भएर कुराकानी गर्ने, नियमित अनुशासन र संस्कारबारे बताउने र उनीहरूलाई नजिकबाट बुझ्न समेत बराबर सञ्चार गर्न आवश्यक छ ।

सकारात्मक अभिभावकत्व नेपाली समाजका लागि अत्यन्त महत्वपूर्ण छ । यो केवल बालबालिकालाई अनुशासनमा राख्ने उपाय मात्र नभई उनीहरूलाई जीवनका विभिन्न चुनौतीलाई सुखद्, सहज र सफल तवरले सामना गर्न सक्ने बनाउने एक विधि हो ।

माया, सहानुभूति र सकारात्मक प्रोत्साहनको माध्यमबाट बालबालिकालाई जिम्मेवार, आत्मनिर्भर र आत्मविश्वासी व्यक्ति बनाउन सकिन्छ । अभिभावकत्वको यो विधिले परिवारमा आपसी प्रेम र विश्वास बढाउँदै सन्तुलित र मर्यादित जीवनयापनको आधारस्तम्भ तयार गर्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।