जेनजीहरूको आन्दोलनका क्रममा विभिन्न स्थानमा आगजनी र तोडफोड भएपछि सडकमा थुप्रिएको फोहोर काठमाडौं महानगरपालिकाले सफा गर्न थालेको छ ।
महानगरले आज बिहानैदेखि नगर प्रहरी तथा सरसफाइ कर्मचारी खटाएर सफाइ अभियान थालेको हो ।आन्दोलनकै क्रममा टायर बाल्दा निस्किएको धुवाँ, जलेर बाँकी रहेका रबरका टुक्रा, प्लास्टिक, काठ तथा अन्य सामग्री सडकमा थुप्रिएको थियो ।
यसले राजधानीको मुख्य सडकखण्ड मात्र नभई वरपरका गल्लीहरूमा समेत आवागमन प्रभावित भएको थियो ।
महानगरले विशेषगरी सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, त्रिपुरेश्वरलगायतका क्षेत्रमा सडक सफा गर्ने कामलाई प्राथमिकता दिएको जनाएको छ । सिंहदरबारको मुख्य सडकखण्डमा जलेर बाँकी रहेका भग्नावशेष हटाउने काम तीव्र पारिएको छ भने अन्य स्थानमा पनि क्रमिक रूपमा सरसफाइ भइरहेको छ ।

आन्दोलनका कारण सडकमा थुप्रिएको फोहोर तत्काल हटाउन नसकिए राजधानीको सौन्दर्यसँगै स्वास्थ्यमा पनि असर पर्ने सम्भावना थियो । त्यसैले बिहानैदेखि कर्मचारी परिचालन गरिएको हो ।
आन्दोलनपछि सडकमा थुप्रिएका फोहोरका ढिक्का हटाइएपछि आवागमन सहज भएको छ । महानगरले नियमित सरसफाइसँगै आवश्यक परे थप जनशक्ति र स्रोत साधन परिचालन गर्ने जनाएको छ ।