नेपालको अर्थतन्त्र ४.४ प्रतिशतले वृद्धि :एसियाली विकास बैंक


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एसियाली विकास बैंक (एडिबी) ले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ।

एडिबीको पछिल्लो प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य) ले गएको आर्थिक वर्षको तुलनामा यो वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो।

गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो।

आगामी आर्थिक वर्ष यस्तो वृद्धिदर चालु वर्षको भन्दा पनि बढ्ने प्रक्षेपण एडिबीको छ। आगामी वर्ष बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण एडिबीले गरेको हो।

गत आर्थिक वर्षमा संकुचित भएका प्रमुख आर्थिक क्षेत्रहरू, औद्योगिक उत्पादन, निर्माण क्षेत्रहरू पेट्रोलियम तथा कच्चा पदार्थको मूल्यमा स्थिरता, लगानीयोग्य पुँजीको उपलब्धताले चालु आर्थिक वर्षमा विस्तार हुने एडिबीले जनाएको छ। 

साथै घट्दो ब्याजदरले सबै उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारका लागि मार्गप्रशस्त गरेकाले थप सहज हुने विश्वास छ।

 

 

चालु आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीतिमा कमी आउने उल्लेख गरिएको छ।

मुद्रास्फीति केन्द्रीय बैंकले तोकेको सीमामा रहने अनुमान एडिबीको छ।

 

 

कृषि उपज संकलन राम्रो रहने अनुमान र सबैभन्दा बढी आयात गरिने मुलुक भारतमा मुद्रास्फीति दरमा आएको गिरावटले मुद्रास्फीतिमा कमी आउने अनुमान गरिएको हो।

एडिबीका प्रमुख अर्थशास्त्री इयान हासनले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिदर भने खुम्चिने बताए। 

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ (नयाँ कर नीति) ले एसिया प्यासिफिक (प्रशान्त) क्षेत्रको आर्थिक वृद्धिदर खुम्चिने बताए।

उनका अनुसार २०२५ मा यो क्षेत्रको वृद्धिदर ४.९ प्रतिशत र २०२६ मा ४.७ प्रतिशतमा झर्नेछ। 

एडिबीले अमेरिकाको आर्थिक वृद्धिदर पनि गत वर्षको तुलनामा खुम्चिने प्रक्षेपण गरेको छ। 

अमेरिकाको आर्थिक वृद्धिदर २०२३ मा २.९ प्रतिशत थियो। 

२०२४ मा २.८ प्रतिशत रहेको आर्थिक वृद्धिदर २०२५ मा २ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ। २०२६ मा १.९ प्रतिशतमा झर्ने प्रक्षेपण छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।