नाकबाट रगत बग्ने कसरी रोक्ने ?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रायजसो गर्मी मौसममा नाकबाट रगत बग्ने समस्या धेरैलाई देखापर्छ । बोलीचालीको भाषामा नाकबाट रगत बग्नुलाई ‘नाथ्री फुटेको’ पनि भनिन्छ । अचानक नाकबाट रगत बग्ने समस्याले मानिसहरू डराउँछन्  । तर,  नाकबाट रगत बग्नुका पनि विभिन्न कारण हुन्छन् । यो समस्यालाई मुख्यतयाः दुई भागमा हेर्न सकिन्छ ।पहिलो कारण नाकभित्रै हुन्छ । नाक कोट्याउने, नाक चलाइरहने र धेरै सीँ सीँ गर्ने बानी छ भने रगत बग्न सक्छ । नाकमा चोट लाग्दा पनि रगत आउन सक्छ । नाकको पछाडिपट्टिको नसा फुटेर पनि रगत बग्न सक्छ । कहिलेकाहीँ त रगत बग्नुको कारण थाहा नहुन पनि सक्छ ।दोस्रो, शरीरका अन्य अंगमा हुने कुनै समस्याका कारण नाकबाट रगत आउने हुन सक्छ । मिर्गौला र कलेजोमा कुनै समस्या हुँदा पनि नाकबाट रगत बग्न सक्छ ।

१.सुख्खा नाकको झिल्ली 

नाकको भित्री झिल्ली सुख्खा हुँदा रक्त नलीहरू कमजोर भई फुट्न सक्छ । यो विशेष गरी सुख्खा मौसम, कम आर्द्रता वा धेरै समयसम्म एसिजडित कोठामा बस्दा हुन्छ ।नाकमा चोटपटक लाग्दा रगतका नशाहरू फुट्न सक्छन् र रगत बाहिर निस्किन सक्छ । औँलाले कोट्याउने बानी वा कडा वस्तुले ठोक्किनाले रक्तनली फुट्न सक्छl

२.एलर्जी वा सङ्क्रमण

सामान्य भाइरस, रुघाखोकी, पिनास आदि कारणले पनि नाकबाट रगत बग्न सक्छ ।  त्यस्तै विभिन्न ब्याक्टेरियाका कारण नाकमा संक्रमण फैलिएर पनि रगत बग्न सक्छ । सङ्क्रमणले नाकको झिल्ली सुन्निएर रक्तस्राव हुन सक्छ ।

३.औषधिको प्रभाव

रगत पातलो पार्ने औषधि जस्तै एस्पिरिन, वारफारिन वा नाकमा प्रयोग हुने स्टेरोइड स्प्रेले रक्तस्रावको जोखिम बढाउन सक्छ र नाकको हड्डी बाङ्गिएको वा नाकमा ट्युमरजस्ता समस्याले पनि रक्तस्राव निम्त्याउन सक्छ त्यस्तै धुलो, धुवाँ, रसायन वा प्रदूषणले नाकको झिल्लीमा जलन पैदा गरी रक्तस्राव हुन सक्छ भेने रगत जम्ने प्रक्रियामा गडबडी जस्तै हेमोफिलिया वा प्लेटलेट्सको कमीले पनि नाकबाट रगत बग्न सक्छ ।

४.अन्य स्वास्थ्य अवस्था

क्यान्सरका कारण नाकभित्र मासु पलाउँदा, ब्लड क्यान्सर, कलेजोसम्बन्धी समस्या र मिर्गौलाको समस्या भएमा रगत आउन सक्छ ।नेजाेफ्यारिंक्समा समस्या हुँदा पनि रगत देखा पर्छ । नाक र घाँटीसँग जोडिएको भागलाई नेजाेफ्यारिंक्समा भनिन्छ । बच्चाहरूमा सो भागमा मासु पलाएमा वा क्यान्सर भएमा रगत आउन सक्छ ।उच्च रक्तचाप, मुटुको समस्या, मधुमेह जस्ता रोगका कारण पनि नाकबाट रगत बग्ने सम्भावना रहन्छ । यस्तो समस्या भएका सबैलाई नाकबाट रक्तस्राव हुन्छ भन्ने चाहिँ छैन ।

नाथ्री फुटे के गर्ने ?

नाकबाट रक्तस्राव हुँदा रगत नाकबाट मात्र बाहिर बग्छ भन्ने हुँदैन ।  नाकबाट घाँटीतर्फ पनि रगत बगेर जान सक्छ । नाकबाटै सिधै रगत झरेमा त्यसलाई सामान्य अवस्थाका रुपमा लिन सकिन्छ ।तर, रगत घाँटीतिर गयो भने त्यो खतरनाक हुन सक्छ । कहिलेकाहीँ फोक्सोमा रगत गएर फोक्सोको नली बन्द भई मानिसको मृत्यु पनि हुन सक्छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो अस्पताल पुग्नुपर्छ ।नाकबाट सामान्य रुपमा रगत आएमा प्राथमिक उपचारको रुपमा सिधा बसेर पाँचदेखि सात मिनेटसम्म नाक थुन्नुपर्छ ।  तर, टाउको पछाडि ढल्काएर वा आकाशतिर हेरेर नाक थुन्नु हुँदैन । यसो गर्दा रगत फोक्सोमा जाने सम्भावना हुन्छ । सीधा उभिएर वा बसेर औँलाले नाक च्याप्दा पनि रगत बग्न रोकिएन भने, चिकित्सकको परामर्श लिनुपर्छ ।रगत बगेमा चिसो वस्तु वा बरफले सेक्नुपर्छ । सुख्खापन कम गर्न नाकमा भ्यासलिन वा नुनयुक्त पानी (नर्मल सलाईन) को स्प्रे प्रयोग गर्न सकिन्छ ।यदि रक्तस्राव बारम्बार हुन्छ, धेरै समयसम्म रोकिँदैन, वा अन्य लक्षणहरू जस्तै चक्कर, कमजोर देखिन्छ भने तुरुन्त विशेषज्ञ  चिकित्सकसँग परामर्श लिनुपर्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।