पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारततर्फ सिधा उडान भएको छ । मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका भारतको मध्य प्रदेश, भोपालका गोपाल शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टर मार्फत भारत लगिएको हो ।आइतबार मुक्तिनाथबाट फर्किँदा मुटु र फोक्सोमा समस्या देखिएपछि उनलाई पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार डा. राज बस्नेत र सरोज अर्यालसहितको स्वास्थ्यकर्मीको टोली लिएर श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा भोपालका लागि उडान भरेको हो । उक्त जहाज भारतको राजा भोज विमानस्थलमा अवतरण गर्नेछ ।भारतका केन्द्रीय कृषि तथा ग्रामीण विकासमन्त्री एवम् मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र बिरामीको परिवारको समन्वयमा श्री एयरलाइन्सको यो चार्टर उडान तय भएको हो । मुक्तिनाथ दर्शनका लागि आएका श्रीवास्तव मन्त्री चौहाननिकट रहेका कारण उच्चस्तरको समन्वयमा जहाजमार्फत भारत लैजाने अनुमति प्राप्त भएको प्रबन्ध निर्देशक पोखरेलले बताए । चौहान सन् २०२४ को लोकसभा निर्वाचनपछि भारतको संघीय मन्त्रिपरिषद्मा कृषिमन्त्री छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार पोखराबाट भारतका लागि उडान भएको यो पहिलो पटक हो । १७ पुस २०७९ मा उद्घाटन भएको यस विमानस्थलबाट यसअघि चीन र भुटानलगायतका देशमा चार्टर उडान भइसकेका छन् ।विमानस्थल निर्माण सम्पन्न हुनुपूर्वदेखि नै पोखराबाट सिधा उडानका लागि भारतसँग छलफल भए पनि भारतले अनुमति दिएको थिएन । प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मको भारत भ्रमणका क्रममा पोखरा विमानस्थलबाट उडानको एजेन्डाले प्राथमिकता पाउने गरे पनि भारत यसमा सकारात्मक बनेको थिएन ।भारतीय नागरिक बिरामी पर्दा उद्धारकै रूपमा भए पनि पहिलो पटक पोखराबाट भारततर्फ जहाज उड्नुलाई विमानस्थल प्रशासनले अर्थपूर्ण रूपमा हेरेको छ । प्रमुख निरौलाले बिरामीकै कारण भए पनि भारततर्फ उडानको ढोका खुलेको र यसले भोलिका दिनमा थप समन्वयका लागि सहजता ल्याउन सक्ने विश्वास व्यक्त गरे ।
२०७२ सालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने निर्णय हुँदा र पछि शिलान्यास हुँदा पोखरावासीमा ठूलो उत्साह थियो । तर, भूराजनीतिक चपेटा र प्रभावकारी कूटनीतिक पहलको अभावमा उद्घाटनको लामो समयसम्म पनि यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
चीनको ऋण लगानीमा निर्माण भएका कारण भारतले यहाँबाट हुने उडानलाई अनुमति नदिएको कतिपय जानकारहरूको विश्लेषण रहँदै आएको छ । सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच विमानस्थल निर्माणको सम्झौता भएको थियो ।
त्यसपछि सन् २०१६ मा नेपाल सरकार र चाइना एक्जिम बैङ्कबीच २१६ मिलियन अमेरिकी डलर ऋण लिने र सीएएमसीले ‘टर्न की प्रोजेक्ट’ का रूपमा निर्माण गर्ने सहमति भएको थियो ।२२ अर्ब लगानी भएको भनिएको यो विमानस्थल अहिले भ्रष्टाचारको दलदलमा रहेको चर्चा छ भने धमाधम मुद्दा दायर पनि भइरहेका छन् । विमानस्थलको निर्माणमा भएको भ्रष्टाचार र भूराजनीतिक मारका कारण अहिलेसम्म नियमित उडान हुन नसकेकोमा पहिलो पटक एक भारतीय नागरिक बिरामी परेको अवस्थामा चार्टर उडान सम्भव भएको हो ।