गोरखामा ‘ब्ल्याक स्पट’ क्षेत्र पहिचान गरेर चेतावनीमूलक बोर्ड राख्दै ट्राफिक प्रहरी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सवारी दुर्घटना बढी हुने क्षेत्रलाई ‘ब्ल्याक स्पट’ को रुपमा पहिचान गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेतावनीमूलक बोर्ड राख्न सुरु गरेको छ ।

शनिबार गोरखा-आँवुखैरेनी सडकखण्डको ठिँगुरेस्वाँरास्थित नाम्जालीडाँडा, वीरेन्चोक र गोरखा-आरुघाट सडखण्डकको फिनाममा चेतावनीमूलक बोर्ड राखिएको कार्यालयले जनाएको छ ।

‘तीन वर्षको अवधिमा मृत्यु वा गम्भिर घाइते हुने गरी कम्तिमा पाँच वटा दुर्घटना भएमा क्षेत्रलाई ब्ल्याक स्पटको रुपमा पहिचान गर्छाैं’, जिल्ला ट्राफिक इन्चार्ज सुरज अर्यालले भने, ‘अनि ब्ल्याक स्पटको संकेतसहित चेतावनीमूलक बोर्ड राख्छौ ।’

सोही अन्तरगत शनिबार तीन वटा ठाउँमा बोर्ड राखिएको उनले जानकारी दिए । दुर्घटना न्यूनिकरण गर्ने उदेश्यसहित सो अभियान थालिएको उनको भनाइ छ ।

तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि गति नियन्त्रण बोर्ड समेत राखिएको उनले बताए । ‘टक्सारदेखि वीरेन्चोकको ओरालो क्षेत्र र फिनामको एसघुम्तिमा गति सिमिति लेखिएको बोर्ड पनि राखेका छौं, त्यहाँ लेखिएकोभन्दा बढी गतिमा सवारी चलाए कारवाही गर्छाैं’, उनले भने ।

वीरेन्चोक क्षेत्रमा प्रति घण्टा ४० किमि र फिनाम क्षेत्रमा ३० किमिभन्दा बढी गतिमा सवारी चलाउन नपाइने भनी बोर्ड उल्लेख गरिएको अर्यालले जानकारी गराए । दुर्घटना जोखिम क्षेत्रलाई मध्यनजर गर्दै उक्त गति निर्धारण गरिएको उनले बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।