रोगको रोकथाममा ध्यान जानु स्वाभाविकै हो। पोषणतर्फ पनि जागरुकता देखिन्छ प्रायःमा। तर दृष्टि, जसले सारा संसार हेर्ने ढोका खोल्दछ— त्यसको संरक्षणप्रति भने बेवास्ता गरिन्छ। अझ गम्भीर कुरा के छ भने पाँच वर्षमुनिका नानीहरूको आँखामा हुने क्यान्सर (रेटिनोब्लास्टोमा) जस्ता रोगबारे जनचेतनाको स्तर अत्यन्तै न्यून छ।तिलगंगा आँखा अस्पतालकी डा. पूर्णिमा राजकर्णिकार र प्रा.डा. रोहित सैंजुजस्ता वरिष्ठ विशेषज्ञहरूले बारम्बार चेतावनी दिँदै आएका छन्— पाँच वर्षमुनिका शिशुहरूमा आँखाको क्यान्सर देखा पर्न सक्छ भनेर। एक महिनाको शिशुबाटै सुरु हुने यो रोग सुरुआती चरणमै पत्ता लगाउन सके उपचार सम्भव छ, ज्यान बचाउन सकिन्छ, दृष्टि जोगाउन सकिन्छ। तर, ढिलाइ गरेमा आँखामात्र होइन, ज्यानै गुम्ने जोखिम रहन्छ।
कसैको आँखामा राति टल्किने सेतो नानी देखियो भने भाग्यमानी भइयो भन्ने अन्धविश्वास अझै छ समाजमा। केहीले चोट लागेछ भनेर सामान्य ठान्छन्। रोग गम्भीर बनिसकेपछि मात्र अस्पताल धाउँछन्। यो असाध्यै ठूलो लापरबाही हो। वीरगन्जका एक अभिभावकको उदाहरण नै पर्याप्त छ— एक वर्षसम्म टल्किएको आँखालाई बेवास्ता गर्दा बालकको आँखै गुम्यो। बालबालिकाको आँखाका सन्दर्भमा अभिभावक यथाशीघ्र सावधान हुन जरुरी छ। आँखाको नानीमा सेतो टीका देखिनु, आँखाको टेढोपन, रातो हुनु वा दृष्टि क्षीण हुँदै जानुजस्ता लक्षण देखिए तत्काल विशेषज्ञ चिकित्सककहाँ जँचाउनु अत्यावश्यक हुन्छ। आँखा नदेख्ने भएपछि वा शरीरमा फैलिएर ज्यान नै गुमेपछि मात्र उपचार खोज्नुको त कुनै अर्थ रहँदैन।
त्यसैले यस गम्भीर विषयमा सरकारले अब कडा कदम चाल्नुपर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार निःशुल्क गरिरहेको कुरा सकारात्मक हो। तर त्यति मात्र पर्याप्त छैन। सरकारले अब गाउँगाउँमा आँखा स्क्रिनिङ अभियान सञ्चालन गर्नु आवश्यक छ। विशेषगरी बालबालिका बढी भएको विद्यालय, बाल विकास केन्द्र, सामुदायिक स्वास्थ्य इकाइहरूमा यसलाई अभियानका रूपमा लैजानुपर्छ। ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य संस्थाको पहुँचका साथै जनचेतनाको कमि हुन्छ। त्यसको समाधानमा प्रदेश तथा स्थानीय सरकारहरू बढी सक्रिय हुन आवश्यक छ। मध्य तराईका जिल्लाहरू— सर्लाही, सिरहा, महोत्तरी लगायत क्षेत्रमा यो रोग बढी देखिएको तथ्यांकबाट त्यहाँ विशेष प्राथमिकता दिनुपर्ने देखिन्छ। त्यसैले पनि अभिभावक र स्वास्थ्यकर्मीलाई तालिम एवं सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर जनचेतना फैलाउनु जरुरी छ।
‘ओपन आइज नेपाल’ जस्ता संस्थाले गरिब र पीडित अभिभावकलाई निःशुल्क उपचार तथा कृत्रिम आँखा उपलब्ध गराइरहेका छन्। यसले उपचारको पहुँच नपुगेका वर्गका लागि ठूलो राहत दिएको छ। यस्ता संस्थाको काममा सरकार, स्थानीय तह र दातृ निकायले थप हातेमालो गर्नुपर्छ। आम नागरिक समुदाय स्वास्थ्य सचेतनामा हातेमालो गर्दै अघि बढ्नुपर्छ। शारीरिक रूपमा स्वस्थ तर दृष्टिविहीन भविष्य बनाउने खतरा बोकेको रेटिनोब्लास्टोमा कुनै सानो विषय होइन।
यदि अभिभावक सजग भए, समाज सचेत बन्छ। अनि, सरकार सक्रिय भयो भने यो रोग समयमै पत्ता लगाएर पूर्णरूपमा निको पार्न सकिन्छ। आजका सन्तान भोलिका कर्णधार हुन्। उनीहरूको दृष्टि सुरक्षित राख्न हामी सबैले भूमिका खेल्नुपर्छ। अभिभावकले सन्तानका आँखामा गम्भीर दृष्टि दिनुपर्छ भने सरकारले पनि सचेतना र उपचारमा विशेष ध्यान देओस् र भविष्य बचाओस्।