गाउँबाट मानिसहरू सहरतिर बसाइँ सर्ने क्रम बढिरहेका बेला धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने गाउँमा नयाँ परिवार भित्राउने र उनीहरूलाई गाउँमै टिकाउने उपाय खोजिरहेको छ ।बसाइँसराइ गरेर आउने परिवारलाई गाउँमै बस्ने आधार तयार पार्ने उद्देश्यले गाउँपालिकाले पाँच वर्षअघि एउटा फरक कार्यक्रम सुरु गर्यो– दुहुना गाई वितरण । नयाँ ठाउँमा घरजम गर्न आउने परिवारलाई उत्पादनसँग जोड्ने, दूधबाट आम्दानी गर्ने वातावरण बनाउने र स्थानीय अर्थतन्त्रमा सहभागी गराउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रममार्फत पाँच वर्षमा ५० परिवारले लैनो गाई पाए ।तर, पाँच वर्षको अनुभवपछि गाउँपालिकाले आफ्नो प्राथमिकता परिवर्तन गरेको छ । पहिले गाउँमा आउने परिवारलाई दुहुना गाई दिइन्थ्यो भने अब घर बनाइदिने तयारी हुँदैछ ।
लैनो गाई दिएर गाउँमा टिकाउने प्रयास
आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएको ‘दुहुना गाई’ कार्यक्रमको उद्देश्य बसाइँसराइ गरेर आउने परिवारलाई गाउँको उत्पादन प्रणालीसँग जोड्नु थियो ।पहिलो वर्ष नौ परिवारलाई गाई दिइयो । त्यसपछि आर्थिक वर्ष २०७८/७९ मा १०, २०७९/८० मा १८, २०८०/८१ मा चार र २०८१/८२ मा तीन परिवारले लैनो गाई पाए ।नयाँ ठाउँमा आएको परिवारसँग एउटा लैनो गाई भए दूध उत्पादन गर्न सकिन्छ भन्ने सुरुवाती सोच थियो । किनभने दूध बेचेर आम्दानी गर्न सकिन्छ र आम्दानीको स्रोत भएपछि परिवारलाई गाउँमै बस्न पनि सहज हुन्छ ।‘कार्यक्रमको मूल उद्देश्य केवल गाई वितरण गर्नु मात्रै होइन,’ गाउँपालिकाको पशुपन्छी विकास शाखा प्रमुख राजकुमार राई भन्छन्, ‘गाउँमा नयाँ परिवार ल्याउनु, उनीहरूलाई स्थानीय अर्थतन्त्रसँग जोड्नु र कृषि तथा पशुपालनमार्फत आयआर्जनको अवसर सिर्जना गर्नु यसको उद्देश्य हो ।’गाई वितरण कार्यक्रमले बसाइँसराइ गरेर आउने परिवारलाई तत्कालै केही उत्पादन र आम्दानीको आधार दिने प्रयास गरेको थियो ।गाउँपालिकामा बसाइँसराइ गरेर आएको भरमा तत्कालै गाई पाइँदैनथ्यो । अन्य जिल्ला वा स्थानीय तहबाट बसाइँसराइ गरेर आएको तीन महिना पूरा भएपछि मात्रै गाई पाउने प्रक्रिया अघि बढाइन्थ्यो।गाई लिन इच्छुक परिवारले गाउँपालिकामा निवेदन दिनुपर्थ्यो । त्यससँगै बसाइँसराइ दर्ता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने व्यवस्था थियो ।कागजात पेस भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गर्थ्यो । परिवार वास्तवमै बसाइँसराइ गरेर आएको हो कि होइन, कहाँ बसिरहेको छ, उसको अवस्था कस्तो छ लगायतका विषय अध्ययन गरेपछि योग्य परिवारलाई मात्रै गाई वितरण गरिन्थ्यो ।त्यसैले कार्यक्रममा रुचि राख्ने सबै परिवारले गाई पाउन भने सकेनन् । आवश्यक कागजात र प्रक्रियाका कारण केही परिवार कार्यक्रमबाट वञ्चित भएको शाखा प्रमुख राई बताउँछन् ।छथर जोरपाटीमा बसाइँसराइ गरेर आउने परिवारमध्ये सबैभन्दा धेरै तेह्रथुमका छन् । छथर क्षेत्रसँग तेह्रथुमको भौगोलिक र सामाजिक सम्बन्ध नजिक रहेकाले पनि त्यहाँबाट बसाइँसराइ गर्ने परिवारको संख्या बढी रहेको गाउँपालिकाको भनाइ छ ।तेह्रथुमसँगै धनकुटाकै अन्य स्थानीय तह, भोजपुर, संखुवासभा र झापाबाट समेत परिवारहरू छथर जोरपाटीमा बसाइँसराइ गरेर आएका छन् ।
पाँच वर्षपछि बदलियो सोच
गाउँमा आउने परिवारलाई उत्पादनसँग जोड्ने प्रयास गरिसकेपछि अब गाउँपालिकाले अर्को आधारलाई प्राथमिकता दिन लागेको छ– सुरक्षित आवास ।गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार गाई वितरणबाट परिवारको आयआर्जनमा सहयोग गर्ने प्रयास गरिएको थियो। तर, नयाँ ठाउँमा बसाइँसराइ गरेर आउने परिवारका लागि दीर्घकालीन बसोबासको आधार निर्माण गर्नु अझ महत्वपूर्ण देखिएको छ ।‘दुहुना गाई कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी हुन सकेन,’ अध्यक्ष सुब्बा भन्छन्, ‘बसाइँसराइ गरेर आउने परिवारका लागि दीर्घकालीन बसोबासको आधार निर्माण गर्नु अझ आवश्यक देखियो । त्यसैले अब सुरक्षित आवासलाई प्राथमिकतामा राख्न लागेका हौँ ।’छथर जोरपाटीको यो परिवर्तन केवल एउटा कार्यक्रम परिवर्तन हुनु मात्र होइन । बसाइँसराइलाई हेर्ने स्थानीय तहको दृष्टिकोणमै आएको परिवर्तन हो ।यसअघि नयाँ परिवार गाउँमा आएपछि उनीहरूलाई स्थानीय उत्पादनमा जोडेर गाउँमै टिकाउने प्रयास भयो ।अब भने उनीहरूलाई गाउँमै टिकाउन त्यसअघि नै आवश्यक पर्ने आधारमा ध्यान दिन खोजिएको छ । अर्थात् पहिले उत्पादन, अब बसोबास ।पहिले हातमा दुहुना गाई दिएर परिवारको आयआर्जन बढाउने प्रयास गरियो । अब दीर्घकालीन बसोबासको आधार तयार पार्ने तयारी हुँदैछ ।
गाउँमा आउनेलाई टिकाउने चुनौती
बसाइँसराइको प्रवृत्ति रोक्नु स्थानीय तहका लागि सहज काम होइन । रोजगारी, शिक्षा, स्वास्थ्य, यातायात र अन्य सुविधाका कारण मानिसहरू गाउँबाट सहरतर्फ आकर्षित भइरहेका छन् ।यस्तो अवस्थामा बाहिरबाट परिवार ल्याउनु मात्रै पर्याप्त हुँदैन । ल्याइएका परिवारलाई गाउँमै टिकाउनु अर्को चुनौती हो । छथर जोरपाटीले यही चुनौतीलाई लक्षित गर्दै कार्यक्रम परिवर्तन गर्न खोजेको हो ।सुरक्षित आवासको आधार पाएपछि नयाँ परिवारलाई गाउँमा स्थायी रूपमा बस्न सहज हुनेछ । त्यसपछि उनीहरूलाई कृषि, पशुपालन र अन्य स्थानीय आर्थिक गतिविधिसँग जोड्न सकिनेछ ।यस अर्थमा ‘सुरक्षित आवास’ कार्यक्रम बसाइँसराइ रोक्ने अन्तिम उपायभन्दा पनि गाउँमा आउने परिवारलाई टिकाउने आधार तयार पार्ने प्रयासका रूपमा अघि बढाइँदैछ ।